काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाको बयान लिने काम सकिएको छ ।
अदालतले अस्मिता कार्कीको बयान हिजो लिएको थियो भने रवि लामाछिाने र युवराज कँडेलको बयान आज लिएको हो । तीनै जनाको बयान लिने काम सकिएकाले अब थुनछेक बहस शुरु भएको छ ।
यता, जिल्ला प्रशासन कार्यालय चितवनले प्रदर्शन गर्न रोक लगाएको छ ।
पत्रकार शलिकराम पुडासैनीको मृत्यु भएको घटनामा अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रहेका लामिछानेकोे रिहाइको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेको छ ।
बहसका लागि वकिलहरु धेरै भएकाले सोमबार नै सकिने नसकिने यकिन छैन । पक्ष विपक्षमा बहस सकिए उनीहरुलाई तारेखमा छोड्ने वा धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने मध्ये कुनै एक आदेश अदालतले दिन सक्छ ।
पुडासैनी गएको साउन २० गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनले आत्माहत्या गर्नु अघि बोलेको भनिएको भिडियोमा रविलगायतलाई दोषी भनेका थिए ।




















