मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह।

क्वालालम्पुर (मलेसिया):= मलेसिया रोजगारीका विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषित भइरहेका भ्रामक, अपूर्ण र तथ्यहीन सूचनाप्रति नेपाल सरकारको युवा, श्रम तथा रोजगार मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत वैदेशिक रोजगारीजस्तो संवेदनशील विषयमा सत्यतथ्य पुष्टि नगरी सूचना फैलाउँदा आम नागरिक तथा सरोकारवालामा अन्योल सिर्जना हुन सक्ने भन्दै आधिकारिक जानकारीका आधारमा मात्रै धारणा बनाउन आग्रह गरेको छ।

मलेसिया रोजगारीको पछिल्लो अवस्थाबारे नेपाल सरकारले प्रचलित श्रम तथा रोजगारसम्बन्धी नीति, वैदेशिक रोजगार ऐन तथा नियमावली, द्विपक्षीय श्रम सम्झौता र अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रहेर मलेसियाली सरकारका सम्बन्धित निकायसँग निरन्तर कूटनीतिक संवाद गरिरहेको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार नेपाली श्रमिकको दीर्घकालीन हित संरक्षण गर्दै नेपाल र मलेसियाबीचको श्रम आप्रवासनलाई व्यवस्थित, पारदर्शी, वस्तुनिष्ठ र न्यायोचित बनाउने सरकारको प्राथमिकता छ। श्रमिकको हितविपरीत हुने प्रणाली तथा पद्धतिलाई सुधार गर्दै निष्पक्ष कामदार छनोट र भर्ना प्रक्रिया सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, नेपालको संविधान, प्रचलित कानुन तथा नेपाल–मलेसियाबीचको श्रम समझदारीअनुरूप दुवै देशलाई मान्य हुने पारदर्शी र निष्पक्ष भर्ना प्रणाली विकास गर्न नेपाल सरकारले सकारात्मक पहल गरिरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मलेसिया रोजगारीसम्बन्धी विषयमा अपुष्ट समाचार र भ्रामक प्रचारबाट प्रभावित नहुन तथा आधिकारिक सूचनालाई प्राथमिकता दिन सबैमा आग्रह गरेको छ।