काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएसँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सक्रियता बढाएका छन् । दाहालले सोमबारका लागि सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि सिंगापुर जानुअघि दाहालाई बैठक बोलाउने अधिकार दिएका थिए । बैठक सोमबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने सचिवालय सदस्य झलनाथ खनालले बताए । ‘बैठक १ बजेका लागि बोलाइएको छ’ उनले हिमालय टाइम्ससँग भने, ‘छलफलका विषयहरू के के हुन् थाहा भएन तर बैठक बोलाइएको छ ।’
स्रोतका अनुसार बैठकमा महानगर अध्यक्ष तथा सचिवका साथै प्रवास कमिटीबारे छलफल हुनेछ । पार्टीका अर्का अध्यक्ष ओली उपचारका लागि सिंगापुर जानुअघिसम्म ओलीको रुचिमा दाहालसँग छलफल भएपछि मात्रै बैठक बस्दै आएको थियो । पार्टी एकता भएको १५ महिनासम्म दाहालले माइन्युटमा सही गर्नुबाहेक अरू अधिकार पाएका थिएनन् ।
प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीको अनुपस्थितिमा पहिलोपटक बस्न लागेको बैठकमा अर्थपूर्ण रूपमा समेत हेरिएको छ । पछिल्लोपटक बसेको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसँग ओलीको ठाकठुक परेको थियो । भोलिपल्टै नेपाल दाहालाई भेट्न खुमलटार पुगेका थिए ।
ओलीले बैठक बोलाउने र पार्टी एकताको बाँकी काम पूरा गर्ने जिम्मेवारी दिएका भए पनि आफ्नो सहमति लिएर मात्रै निर्णय गर्न भनेका छन् । ओलीको यही चाहनामा नेपालले आपत्ति प्रकट गरेका थिए ।
पछिल्लो समय कार्यकारी भूमिकामा रहेका प्रचण्डले पूर्वएमालेका नेताहरूका बीचमा देखिएको ध्रुवीकरण र तिक्तता मेटाउने प्रयासमा सक्रियता बढाएका छन् ।
दाहालले कार्यविभाजन र वरीयता हेरफेरप्रति असन्तुष्ट नेता नेपालसँग शुक्रबार भेटवार्ता गरेका थिए । दाहालले पार्टीभित्र देखिएको असन्तुष्टि र तिक्तता मेटाउन नेपालसँग भेटवार्ता गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलको भनाइ छ ।
‘पार्टीमा देखिएको असन्तुष्टि मेटाउन उहाँले प्रयत्न गरिरहनुभएको छ । तिक्तता मेटाएर जानुपर्छ भन्ने बारेमै छलफल गर्न नेताहरूका बीचमा भेटवार्ता भएको हो,’ उनले भने । नेपालनिकट स्रोतले भेटवार्ताका क्रममा भदौ १ गतेको निर्णयलाई ‘सर्कुलर’ गर्ने विषयमा छलफल भएको बताएको छ ।
‘पछिल्लो निर्णयको सर्कुलर जारी गर्ने विषयमा छलफल भयो । जनसंगठनमा केही सिनियर केन्द्रीय सदस्यलाई सहइञ्चार्ज बनाउने बारेमा पनि अध्यक्ष र वरिष्ठ नेताबीच छलफल भएको थियो,’ स्रोतले भन्यो ।
गत बिहीबारको बसेको सचिवालय बैठकले अध्यक्ष दाहाललाई एकता प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी दिएको थियो । सोही जिम्मेवारीअनुसार बाँकी रहेका काम पूरा गर्न दाहालले भेटघाट तीव्र बनाएको बताइएको छ ।
गठन गर्न बाँकी रहेका विभाग सर्वसम्मतिले गठन गर्नुपर्ने प्रधानमन्त्री ओलीको आग्रहअनुसार दाहालले नेताहरूसँग सल्लाह, परामर्श लिइरहेको उनीनिकट स्रोतको भनाइ छ ।
नेकपाका ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार परिषद्, कानुन, लेखा र अनुशासन आयोग गठन हुन बाँकी छ । एकता प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन अध्यक्ष दाहालले सोमबार सचिवालयको बैठक बोलाउने तयारी गरेको बताइएको छ ।
राष्ट्रपतिसँग भेट
अध्यक्ष दाहालले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । झण्डै दुई घण्टा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक कुराकानी भएको बताइएको छ । कुराकानीका बारेमा औपचारिक रूपमा भने केही जानकारी गराइएको छैन ।



















