एजेन्सी := युरोपमा राम्रो भविष्यको सपना बोकेर समुद्र तरेर स्पेनको स्वायत्त सहर सेउटा पुगेका हजारौँ आप्रवासी केही घण्टामै निराश हुँदै मोरक्को फर्किएका छन्। स्पेनको गृह मन्त्रालयका अनुसार बिहीबारदेखि सुरु भएको अभूतपूर्व आप्रवासी लहरमा करिब ५० हजार मानिस सेउटा प्रवेश गरेका थिए।
तर शुक्रबार साँझसम्म ४८ हजार ३ सयभन्दा बढी व्यक्ति स्वेच्छाले मोरक्को फर्किएका छन्। हाल सेउटामा दुई हजारभन्दा कम आप्रवासी मात्र बाँकी रहेको जनाइएको छ।स्पेनी सञ्चारमाध्यमका अनुसार सेउटा पुगेपछि धेरैले बस्ने ठाउँ, पर्याप्त खाना र आधारभूत सुविधा नपाएपछि फर्किने निर्णय गरेका हुन्।
अस्थायी आप्रवासी केन्द्र पहिलो दिनमै भरिएको थियो भने धेरैले पार्क, समुद्री किनार र खुला स्थानमा रात बिताउनुपरेको थियो। कतिपय आप्रवासीले सामाजिक सञ्जालमा फैलिएको ‘सीमा खुला छ’ भन्ने सन्देशको विश्वासमा समुद्र पार गरेको बताएका छन्। तर स्पेन सरकारले भने मानव तस्करीका सञ्जालले गलत सूचना फैलाएर मानिसलाई जोखिमपूर्ण यात्रा गर्न उक्साएको आरोप लगाएको छ।
मोरक्कोका धेरै युवाले बेरोजगारी, आर्थिक कठिनाइ र युरोपमा राम्रो भविष्यको आशाले समुद्र पार गर्ने निर्णय गरेको बताएका छन्। पहिलो दिनको ठूलो भीडपछि मोरक्कोले सीमा क्षेत्रमा सुरक्षा कडा बनाएको छ। दंगा नियन्त्रण प्रहरी परिचालन, अश्रुग्यास तथा पानीको फोहोरा प्रयोग गरेर सीमा क्षेत्रमा भीड नियन्त्रण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसबीच, स्पेनी सञ्चारमाध्यमका अनुसार समुद्र पार गर्ने क्रममा मृत्यु हुनेको संख्या ५७ पुगेको छ। यसलाई पछिल्ला वर्षहरूमा स्पेनको सीमामा देखिएको सबैभन्दा घातक आप्रवासी संकटमध्ये एक मानिएको छ। सेउटा घटनापछि युरोपभर आप्रवासन नीति, सीमा सुरक्षा र मानवीय व्यवस्थापनबारे नयाँ बहस सुरु भएको छ। इटालीले स्पेनबाट आउने यात्रुमाथि अनियमित सीमा जाँच सुरु गर्ने घोषणा गरेको छ भने स्पेनले युरोपेली सीमा व्यवस्थापन प्रभावकारी रहेको दाबी गरेको छ।




















