क्वालालम्पुर := वैदेशिक रोजगारीका लागि मलेसिया भन्ने बित्तिकै धेरैको मनमा साधारण श्रम र दुःखको चित्र आउँछ। तर, काभ्रेका विक्रम गौतमले भने आफ्नो फरक सीप र अथक मिहिनेतका कारण मलेसियाको हस्पिटालिटी क्षेत्रमा एउटा लोभलाग्दो इतिहास रचेका छन्।
हाल उनी मलेसियाको क्वालालम्पुरस्थित विश्वप्रसिद्ध चेन रेष्टुरेन्ट ‘स्मीथ एन्ड वोलेन्स्की’ मा हेड सोमेलियर (मदिरा तथा वाइन विज्ञ) को रूपमा कार्यरत छन्। जहाँ उनको मासिक कमाइ झन्डै ६ लाख नेपाली रुपैयाँ रहेको छ भने खाने र बस्ने जस्ता सम्पूर्ण सुविधाहरू कम्पनीले नै बेहोर्ने गरेको छ।
विक्रमको यो सफलता रातारात मिलेको होइन। सन् २०१० मा होटल म्यानेजमेन्ट पढ्न साइप्रस पुगेका उनले सन् २०१४ मा दुबईमा बारटेन्डर र बार म्यानेजरको रूपमा काम गरे। दुबईमा रहँदा नै उनले वाइन संस्कृतिको विशेष अध्ययन अर्थात् ‘सोमेलियर’ कोर्स पूरा गरे।
आफ्नो पेसाप्रतिको लगावका कारण उनी विश्वकै प्रतिष्ठित संस्था ‘कोर्ट अफ मास्टर सोमेलियर्स’ (CMS) बाट ‘एडभान्स सोमेलियर’ को उपाधि हासिल गर्ने पहिलो नेपाली समेत बन्न सफल भए। यही विशेष दक्षताका कारण उनी साधारण कामदार नभई ‘हाई-स्किल भिसा’ मार्फत मलेसिया पुगेका हुन्।
आफ्नो व्यावसायिक सिलसिला, वाइन संस्कृति बुझ्न र स्वाद परीक्षणका क्रममा विक्रमले विश्वका ६० भन्दा बढी देशहरूको भ्रमण गरिसकेका छन्। नेपालमा वाइनको ठूलो बजार र यससम्बन्धी खासै चर्चा नभए पनि अन्तर्राष्ट्रिय मञ्चमा उनले प्राप्त गरेको यो सफलता प्रत्येक नेपालीका लागि गर्वको विषय हो।
सही सीप, उच्च शिक्षा र आफ्नो कामप्रतिको इमानदारिता हुने हो भने वैदेशिक रोजगारीमा पनि कतिसम्म उच्च सम्मान र आकर्षक आम्दानी गर्न सकिन्छ भन्ने कुराको एउटा बलियो उदाहरण सोमेलियर विक्रम गौतम बनेका छन्।
स्रोत- सेतोपाटि




















