क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभागले अवैध तथा गैरकानुनी रूपमा जारी गरिएका सबै अस्थायी रोजगारी भ्रमण पास (PLKS) अर्थात् वर्क परमिटहरू तत्काल खारेज गर्ने प्रक्रिया सुरु गरेको छ।
अध्यागमन विभाग र मलेसियाली भ्रष्टाचार विरोधी आयोग (MACC) को संयुक्त अनुसन्धानबाट एउटा संगठित गिरोहले अध्यागमनको मुख्य प्रणाली (MyIMMs) ह्याक गरी सरकारी दस्तुर (Levy) नै नतिरी १,३०६ वटा नक्कली श्रम स्वीकृति जारी गरेको खुलासा भएपछि सरकारले यो कडा कदम चालेको हो।
नियम विपरीत जारी गरिएका यी सबै परमिटहरू रद्द गरिने र ती परमिट बोकेर मलेसियाका विभिन्न क्षेत्रमा कार्यरत विदेशी कामदारहरूलाई पक्राउ गर्न राष्ट्रव्यापी खोजी अभियान सुरु भइसकेको अध्यागमनका महानिर्देशक दातुक जकारिया शाबानले बताउनुभएको छ।
यस अवैध धन्दाका कारण मलेसिया सरकारलाई करिब २४ लाख मलेसियन रिंगिट (RM 2.4 million) बराबरको राजस्व नोक्सान भएको अनुसन्धानले देखाएको छ। गिरोहले सन् २०११ देखिका पुराना र प्रयोग नभएका कोटाहरूको दुरुपयोग गरी मलेसियाभित्रै रहेका वा बाहिरबाट आउने विदेशी नागरिकहरूका लागि नक्कली परमिट स्वीकृत गराउने गरेको पाइएको हो।
यस काण्डमा संलग्न रहेको आरोपमा अध्यागमन विभागका ६ जना कर्मचारी (जसमा २ जना सूचना प्रविधि शाखाका छन्), १ जना प्रहरी अधिकारी, २ जना कम्पनीका निर्देशक र ३ जना विदेशी नागरिक गरी कुल १२ जनालाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान भइरहेको छ।
मलेसिया सरकारको यो पछिल्लो घोषणा र कडा कदमले विशेष गरी दलाल वा बिचौलिया मार्फत कागजपत्र बनाएर मलेसियामा बसिरहेका विदेशी कामदारहरूलाई ठुलो संकटमा पारेको छ। अध्यागमन विभागले अवैध रूपमा परमिट लिने जोकोहीलाई पनि नछाड्ने र भेटिएमा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
स्रोत- स्थानीय मीडिया




















