रोनाल्डोको गोल अमान्य

लण्डन । भिडियो एसिस्टेन्ट रेफ्रि(भार)ले क्रिस्टियानो रोनाल्डोको गोललाई मान्यता नदिएको इटालियन सिरी एको खेलमा युभेन्ट्सले पर्मामाथि १–० को कठिन जित हात पारेको छ । नयाँ सिजनमा साविकको विजेता युभेन्ट्सको यो पहिलो खेलसमेत हो ।

कप्तान जर्जियो किएलिनीले २१औं मिनेटमा युभेन्ट्सका लागि निर्णायक गोल गरेका थिए । एलेक्स सान्ड्रोको पासमा उनले गोल गरेका थिए । रोनाल्डोले पहिलो हाफमै गोल गर्दै टोलीको अग्रता दोहोरो बनाएको भन्दै खुशी मनाइरहँदा भारले थोरैमात्र उनको टाउको अफसाइड रहेको भन्दै उनको गोललाई मान्यता दिएन । यस्तै सिजनमा भित्र्याएका अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला र नयाँ डिफेन्डर म्याथिस डे लिग्टलाई भने युभेन्ट्सले बेन्चमै राखेको थियो ।