काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार सुरु भएको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री ओलीको शुक्रबार उपचारका क्रममा ‘प्लाज्मा फेरेसिसी’ प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई उद्धृत गर्दै रिमालले ट्वीटरमार्फत भनेका छन्– प्रधानमन्त्रीको उपचारका क्रममा गत शुक्रबारबाट प्लाज्मा फेरेसिस प्रक्रिया सुरु भएको छ । यो उपचार प्रक्रिया अरू केही पटक गरिनेछ । उहाँको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा छ ।
चिकित्सकहरूका अनुसार प्लाज्मा फेरेसिस भनेको शरीरमा विभिन्न रोग बनाउने ‘एन्टिबडी’ हरू हटाउने प्रक्रिया हो । रगतमा देखिने पारदर्शी वस्तु ‘प्लाज्मा’ ले खासगरी रातो र सेतो रगत, ‘प्लेटलेट्स लगायतसँग लड्ने ‘एन्टिबडी’ बोक्ने चिकित्सकहरू बताउँछन् । रिमालले ट्वीटमा उल्लेख गरेअनुसार प्रधानमन्त्रीको उपचारमा सो विधि पुनः अपनाइने छ । चिकित्सकहरूका अनुसार मिर्गाैलाको क्षमता हेरेर दिन बिराएर वा हप्तामा दुईपटक प्लाज्मा फेरेसिस गरिन्छ । रिमालले अब कतिपटक कसरी गर्ने भनेर उल्लेख नगरे पनि पुनः गरिने भनेर जानकारी दिएका छन् । ‘प्लाज्मा फेरेसिस’ को स्पष्ट नतिजा आउन कम्तीमा पनि दुई साता कुर्नुपर्ने हुन्छ ।
बिरामीको रोग प्रतिरोधात्मक क्षमता, दीर्घ रोगको अवस्था, ‘एन्टिबडी’ को मात्रा, मिर्गौलाको कार्य क्षमता र उमेरले ‘प्लाज्मा फेरेसिस’ को सफलता निर्धारण गर्ने चिकित्सक बताउँछन् । नेकपाका अध्यक्षसमेत रहेका ओली भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए ।
प्रधानमन्त्री ओलीको उपचारबारे उनको मेडिकल टिमले भने औपचारिक जानकारी गराएको छैन । सिंगापुर उड्नुअघि निजी चिकित्सक दिव्या सिंहले एक विज्ञप्ति जारी गरी साउन १८ देख २७ गतेसम्म सिंगापुरको न्याशनल युनिभर्सिटी हस्पिटलमा गरिएको स्वास्थ्य परीक्षणमा मिर्गौला सम्बन्धी एन्टी बडीको मात्रा केही बढी देखिएकोले एन्टी बडीलाई शरीरबाट निस्काशन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन फेरि त्यसतर्फ जान लागेको जानकारी गराएकी थिइन् ।
प्रधानमन्त्रीलाई गाली गर्ने पक्राउ
प्रहरीले प्रधानमन्त्री ओलीलाई फेसबुकमा गाली गर्ने एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीले अपराध महाशाखा टेकु काठमाडौंले साइबर अपराध महाशाखाको निर्देशनअनुसार लम्कीका २६ वर्षीय हृदय उपाध्यायलाई पक्राउ गरेको हो । उनले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै फेसबुमा प्रधानमन्त्री उपचारका लागि सिंगापुर गएकोमा नाकारात्मक टिप्पणी गरेका थिए ।




















