क्वालालम्पुर := मलेसिया सरकारले सार्वजनिक सेवामा ऐतिहासिक सुधार गर्दै सरकारी कर्मचारीहरूका लागि ‘हाइब्रिड कार्यदिन’ (Hybrid Working Arrangement) नीति आज (१ अगस्ट २०२६) देखि औपचारिक रूपमा लागू गरेको छ।
मलेसियाको जनसेवा विभाग (JPA) ले सार्वजनिक गरेको नयाँ व्यवस्थाअनुसार योग्य सरकारी कर्मचारीहरूले अब हप्तामा तीन दिन कार्यालयमा उपस्थित भई बाँकी दुई दिन घरबाट वा स्वीकृत वैकल्पिक स्थानबाट आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्नेछन्।
सरकारले यो व्यवस्था अस्थायी प्रयोगका रूपमा नभई सार्वजनिक सेवालाई आधुनिक, प्रविधिमैत्री र प्रभावकारी बनाउने दीर्घकालीन रणनीतिअन्तर्गत लागू गरेको जनाएको छ। नयाँ नीतिले कर्मचारीहरूको कार्य–जीवन सन्तुलन (Work-Life Balance) सुधार गर्दै डिजिटल प्रशासनलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
यद्यपि, हाइब्रिड प्रणाली लागू भए पनि कर्मचारीहरूको आधिकारिक कार्यघण्टामा कुनै कटौती गरिने छैन। कार्यालयमा होस् वा घरबाट, तोकिएको कार्यसमय पूरा गर्नुपर्नेछ। साथै, कर्मचारीहरूको कार्यसम्पादन र उत्पादकत्व सुनिश्चित गर्न SPOT-Me प्रणालीमार्फत नियमित अनुगमन गरिने जनाइएको छ।
सरकारले यो सुविधाको दुरुपयोग रोक्न पनि विशेष व्यवस्था गरेको छ। कर्मचारीहरूले हप्ताको बिदासँग जोडेर लामो बिदा (Long Weekend) बनाउन नपाऊन् भन्ने उद्देश्यले अनिवार्य कार्यालय उपस्थितिका दिन राज्यअनुसार निर्धारण गरिएको छ। शनिबार–आइतबार सार्वजनिक बिदा हुने राज्यमा सोमबार र शुक्रबार कार्यालयमा उपस्थित हुनुपर्नेछ भने शुक्रबार–शनिबार बिदा हुने राज्यमा आइतबार र बिहीबार अनिवार्य रूपमा कार्यालय जानुपर्नेछ।
तर, यो सुविधा सबै सरकारी कर्मचारीका लागि लागू हुने छैन। जनतासँग प्रत्यक्ष सेवा प्रवाह गर्ने तथा भौतिक उपस्थितिलाई अनिवार्य मानिने स्वास्थ्य, सुरक्षा, रक्षा, शिक्षा, प्रवर्तन, अदालत तथा काउन्टर सेवा जस्ता अत्यावश्यक क्षेत्रमा कार्यरत कर्मचारीहरूले भने साविककै व्यवस्थाअनुसार नियमित रूपमा कार्यालयमा उपस्थित भएर सेवा दिनुपर्नेछ।
सरकारका अनुसार यो नीति मलेसियाको सार्वजनिक सेवामा डिजिटल रूपान्तरणलाई तीव्र बनाउने, सेवाको गुणस्तर बढाउने तथा कर्मचारीको कार्यक्षमता र सन्तुष्टि अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।




















