सुर्खेत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास गुम्दै गएका बेला पार्टीलाई सुधारेर जनताको भरोसायोग्य पार्टी बनाउनुपर्नेमा जोड दिएका छन् । कर्णाली प्रदेशको सुर्खेतमा बिहीबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै पौडेलले कम्युनिष्टप्रति जनताको विश्वास कम हुँदै गएका बेला कांग्रेसले आफ्ना क्रियाकलाप सुधार गर्नुपर्नेमा जोड दिएका हुन् ।
‘अहिले जनताले पत्याएको कांग्रेसलाई होइन, कम्युनिष्टलाई नै हो । तर, अहिले कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास कम हुँदै गएको छ । हामी सुध्रिएर जनताको भरोसायोग्य पार्टी बनाउन जरुरी छ,’ उनले भने, ‘हाम्रा क्रियाकलाप सुधार गर्न जरुरी छ ।’ हिजोका दिनमा जनताले किन विश्वास गर्न सकेनन् भन्ने आत्मसात गर्दै विगतका कमीकमजोरी सच्याएर जनताको विश्वासयोग्य पार्टी बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।
गत निर्वाचनमा जनताले कम्युनिष्ट पार्टीलाई मतदान गरे पनि परिवर्तन खोजिरहेको पौडेलले बताए । ‘नेपाली कांग्रेसले आफ्नो भूमिका सम्झन जरुरी छ । हिजो जनताले कम्युनिष्टलाई मत दिए । आज उनीहरूले परिवर्तन खोजेका छन्,’ उनले भने । जनतासँग विकल्प भएकाले कांग्रेसलाई जनताको पार्टी बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।
राजनीतिक पार्टीप्रतिको विश्वास घट्दै जाँदा व्यवस्था नै संकटमा पर्नसक्ने सम्भावना औंल्याउँदै पौडेलले नेता–कार्यकर्तालाई कांग्रेस भनेर हिँड्न निर्देशन दिए । ‘राजनीतिक पार्टीप्रतिको विश्वास घट्दै गयो भने व्यवस्था संकटमा पर्न सक्छ,’ उनले भने, ‘नेपाली कांग्रेस भनेर सबैजना हिँड्नुस् । पौडेल, देउवाको भनेर होइन । निष्ठाको राजनीतिलाई अगाडि बढाउन सकेनौं भने जनताले पत्याउँदैनन् ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सर्वदलीय बैठक डाकेर मुलुक संकटतर्फ गइरहेको बताएको स्मरण गर्दै उनले प्रश्न गरे, ‘दुई तिहाइको सरकार प्रखर नेताहरूले चलाएका बेलामा कसरी देशलाई संकट आयो ?’ पौडेलले कम्युनिष्ट नेतृत्वको सरकारले जनताको मतको कदर गर्न नसकेको टिप्पणी गरे ।
उनले कम्युनिष्ट नेतृत्वको सरकारले संवैधानिक निकायलाई तर्साउन र प्रेसलाई नियन्त्रणमा लिन दुई तिहाइ उपयोग गरेको आरोप लगाए । ‘उनीहरूले दुई तिहाइ बहुमतलाई उपयोग गर्न सकेनन् । संवैधानिक निकायलाई तर्साउने, प्रेसको मुख थुन्न खोज्नेतर्फ उहाँहरूले दुई तिहाइको उपयोग गर्नुभयो,’ पौडेलले भने । सरकारले दुई तिहाइको उपयोग गलत कामका गरेकै कारण मुलुक उकुसमुकुसको स्थितिमा आएको उनको भनाइ थियो । उनले नेपालमा राजतन्त्र फेरि फर्किएर आउने कुनै सम्भावनै नरहेको जिकिर गरे । ‘राजतन्त्र फर्केर आउने भनेको पृथ्वी पल्टनेजस्तै हो,’ उनले भने ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार लोकतान्त्रिक पद्धतिका खिलापमा लागेको आरोप लगाए । उनले उपचारका लागि सिंगापुर जान लागेका प्रधानमन्त्री ओलीले ‘भिडियो कन्फरेन्स’बाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्ने विषय हास्यास्पद भएको टिप्पणी गरे ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले परिवर्तनका उपलब्धिहरू उल्ट्याउने खतरा भइरहेको भन्दै त्यसका विरुद्ध कांग्रेसले खबरदारी गर्नुपर्नेमा जोड दिए । खबरदारीका लागि कांग्रेस जनतामाझ पुग्नुपर्ने उनको भनाइ थियो । शुक्रबारसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका एक सय ४० जना महाधिवेशन प्रतिनिधिको सहभागिता छ ।



















