आज सनातन धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी।

काठमाडौं:= वैदिक सनातन धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मदिनका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस अवसरमा देशभरका कृष्ण मन्दिरमा विशेष पूजाआराधना, भजनकीर्तन, प्रवचन तथा धार्मिक कार्यक्रम आयोजना भइरहेका छन्।

द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। पर्वका अवसरमा महिला तथा पुरुष भक्तजन व्रत बसी रातभर जाग्राम बस्ने परम्परा पनि रहेको छ।

भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिनुभएका श्रीकृष्णले अन्याय, अत्याचार र अधर्मको अन्त्य गर्दै सत्य तथा सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरणा दिएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। उहाँलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेताका रूपमा समेत स्मरण गरिन्छ।

कुरुक्षेत्रको युद्धका क्रममा अर्जुनलाई श्रीकृष्णले दिनुभएको उपदेशलाई समेटिएको श्रीमद्भागवतगीता हिन्दू धर्मावलम्बीका लागि पवित्र ग्रन्थका रूपमा मानिन्छ। छोटकरीमा ‘गीता’ भनिने यस ग्रन्थले कर्म, धर्म, कर्तव्य र जीवन दर्शनबारे महत्वपूर्ण सन्देश दिएको छ।

श्रीकृष्णको बाल्यकालदेखि नै विभिन्न लीला र दानवी प्रवृत्तिविरुद्धको संघर्षका कथा धार्मिक ग्रन्थमा वर्णन गरिएको छ। पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता पात्रको संहारसँग जोडिएका कथाका कारण पनि जन्माष्टमीलाई अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा लिइन्छ।

जन्माष्टमीका अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा विशेष पूजा तथा ठूलो धार्मिक मेला लाग्ने गर्दछ। यस्तै, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधामलगायत राजधानीका विभिन्न कृष्ण मन्दिरमा पनि भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ।

यसै अवसरमा विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाले भगवान् श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने गरेका छन्। देशका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरहरूमा बिहानैदेखि भक्तजन पूजाआराधनाका लागि पुगिरहेका छन्। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।