मलेसियामा किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिको तेस्रो राष्ट्रिय अधिवेशन हुँदै।

जोहोरबारु(मलेसिया):= किरात भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले किरात राई यायोक्खा विदेश संगठन मलेसियाको केन्द्रिय समितिको तेस्रो राष्ट्रिय अधिवेशन आयोजना हुने भएको छ।

अधिवेशन कार्यक्रम यहीँ २० सेप्टेम्बर २०२६, आइतबार मलेसियाको होटल हिमालयनको सभा हलमा हुने तय भएको किरात राई यायोक्खा मलेसियाको महासचिव यज्ञकुमार राईले बताउनुभयो ।

किरात राई यायोक्खा विदेश संगठन मलेसियाले आयोजना गर्ने अधिवेशनको सह-आयोजकमा किरात राई यायोक्खा क्षेत्रीय कार्य समिति जोहोर बारु, मलेसिया, किरात राई यायोक्खा क्षेत्रीय कार्य समिति इपो पेराक, मलेसिया र किरात राई यायोक्खा क्षेत्रीय कार्य समिति मलका, मलेसिया रहेको जनाइएको छ।

किरात भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण तथा सम्बर्द्धनको लागि किरात राईहरूको साझा अभियान’ भन्ने मूल भावसहित आयोजना हुन लागेको अधिवेशनले मलेसियामा रहेका किरात राई समुदायलाई थप संगठित गर्दै भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

किरात राई यायोक्खाले प्रवासमा रहेका राई समुदायलाई एकताबद्ध गर्दै आफ्नो मौलिक भाषा, संस्कृति, इतिहास तथा पहिचान संरक्षणका गतिविधि गर्दै आएको छ। अधिवेशनमा मलेसियाका विभिन्न क्षेत्र तथा शाखामा आबद्ध किरात राई समुदायका प्रतिनिधि, विभिन्न संघसंस्थापदाधिकारी तथा शुभेच्छुकहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

मिडिया पार्टनरहरूका रूपमा मलाया खबरलगायत विभिन्न नेपाली सञ्चारमाध्यम तथा अनलाइन सञ्चार संस्थाहरूलाई समावेश गरिएको छ। अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी कार्यदिशा र संगठनलाई थप प्रभावकारी बनाउने विषयमा समेत महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।