इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अब भारतसँग वार्ताका लागि अपील नगर्ने बताएका छन् । उनले अब वार्ताभन्दा परमाणु युद्ध हुनसक्ने चेतावनी दिए । एक अन्तर्राष्ट्रिय मिडियालाई दिएको अन्तर्वार्तामा इमरानले आपूmले पटक–पटक वार्ताका लागि आग्रह गरेको तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेवास्ता गरेको बताए ।
अमेरिकी अखबार न्युयोर्क टाइम्ससँग कुरा गर्दै इमरानले भने, ‘अब उनीसँग कुरा गर्नुको कुनै फाइदा छैन । मैले वार्ताका लागि सबै कोसिस गरेँ । दुर्भाग्य नै भन्नुपर्छ जब म पछाडि फर्केर हेर्छु त्यतिबेला लाग्छ कि मेरो शान्ति र वार्ताको सबै कोसिसलाई उनले तुष्टीकरणको रूपमा लिए ।’ इमरानले अहिलेसम्म गरिएका सबै प्रयास बेकार भएको भन्दै अब भारतसँग वार्ताको कुनै औचित्य नरहेको बताए ।
इमरानले भारतले कश्मीरमा फर्जी अपरेसन चलाउन सक्ने आशंका गरे ताकि त्यसको आडमा पाकिस्तानविरुद्ध सैन्य कारबाहीका लागि उसलाई आधार प्राप्त होस् । यस्तो स्थितिमा पाकिस्तान जवाफ दिन बाध्य हुने उनको भनाइ थियो । इमरानले दुई परमाणु शक्ति सम्पन्न देश आमने सामने हुँदा जे पनि हुनसक्ने खतरा औँल्याए । उनले भने, ‘मेरो चिन्ता यही छ कि, कश्मीरको हालतले तनाव बढ्नसक्छ । दुवै देश परमाणु शक्ति सम्पन्न छन् । त्यसैले, विश्वले यसतर्फ ध्यान दिनुपर्छ कि हामी कस्तो हालतको सामना गरिरहेका छौँ ।’
हालै भारतले जम्मु कश्मीरको विशेषाधिकार खारेज गरेपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । गएको ५ अगष्टमा भारतीय संविधानको धारा ३७० खारेज भएसँगै कश्मीरको विशेषाधिकार खोसिएको छ । कश्मीरमा ४ अगस्टदेखि कप्mर्यु जारी छ । पाकिस्तानले भारतको यो कदमको विरोध गर्दै आएको छ । उसले संयुक्त राष्ट्रसंघमा पनि यो विषय उठाएको थियो । राष्ट्र संघको सुरक्षा परिषद्मा यो मामिलामा छलफल भएको थियो । पाकिस्तानले कश्मीर मामिलामा अन्तर्राष्ट्रिय अदालतमा जानेसमेत बताइसकेको छ । भारतीय कदमपछि सीमा क्षेत्रमा युद्धविराम उल्लंघनका घटनाहरू पनि बढेका छन् । भारत र पाकिस्तान दुवैले यस्तो युद्धविराम उल्लंघन गरेको आरोप एकअर्कामाथि लगाइरहेका छन् । दुवैतर्फ केही सैनिकहरू मारिएका छन् ।



















