नेपाली बाढी पीडितको दुःखमा मलेसियाको साथ, उप-विदेशमन्त्रीद्वारा शोक वक्तव्यमा हस्ताक्षर।

[ घनश्याम चौधरी “आरएन” ] 

क्वालालम्पुर (मलेसिया):= नेपालमा गत अगस्ट २६ मा चीन तिब्बत – रसुवा नाकाहुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक बाढीबाट भएको मानवीय क्षतिप्रति मलेसिया सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

मलेसिया सरकारका उप-विदेशमन्त्री वाईबी दातो लुकानिस्मान बिन आवाङ साउनीले आज मलेसियास्थित नेपाली दूतावासको भ्रमण गरी शोक पुस्तिकामा हस्ताक्षर गरेका छन्।

सो अवसरमा उप-विदेशमन्त्री लुकानिस्मानले मलेसिया सरकार तथा मलेसियाली जनताको तर्फबाट बाढीमा परी ज्यान गुमाएका नेपालीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे। उनले विपत्तिको यस दुःखद् घडीमा नेपाल र नेपाली जनताप्रति मलेसियाको ऐक्यबद्धता रहेको बताएका छन्।

नेपाली राजदूतावास कक्षमा शोक वक्तव्य पत्रमा हस्ताक्षर गर्नुहुँदै मलेसियाका उप-परराष्ट्र मन्त्री  ।

नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाका कार्यवाहक राजदूत मुदिता बज्राचार्यले नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट मलेसियाका उप-विदेश मन्त्रीलाई समवेदना प्रकटका लागि धन्यवाद दिइन्। उनले दुःखको यस समयमा मलेसिया सरकारले देखाएको सद्भाव, ऐक्यबद्धता र सहयोगप्रति कृतज्ञता व्यक्त गरिन्।

कार्यवाहक राजदूत बज्राचार्यले बाढी तथा पहिरोबाट प्रभावित नेपालीहरूको राहतका लागि मलेसिया सरकारले घोषणा गरे अनुरुपको उपलब्ध गराउने आर्थिक सहयोगप्रति समेत विशेष आभार व्यक्त गरिन्।

यसअघि मलेसिया सरकारका प्रधानमन्त्री दातोक श्री अनवर इब्राहिमले नेपालका बाढी प्रभावित नागरिकलाई राहत तथा विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका प्रयासमा सहयोग पुर्‍याउन अधिकतम १० लाख अमेरिकी डलर (US$1 million) नेपाली रु. १५ करोड ३३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा समेत गरेको छ। र आवश्यक सहयोग समन्वय पनि गरिरहेको छ ।