नेपालका बाढीपीडितको खोज तथा उद्धारका लागि मलेसियाको SMART टोली आज नेपाल प्रस्थान गर्दै।

क्वालालम्पुर (मलेसिया):= नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोपछि खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन मलेसिया सरकारले आफ्नो विशेष विपद् सहायता तथा उद्धार टोली SMART (Special Malaysia Disaster Assistance and Rescue Team) आज नेपाल पठाउँदैछ।

नेपाल सरकारको औपचारिक स्वीकृति तथा कूटनीतिक अनुरोधपछि ११ सदस्यीय विशेषज्ञ टोली नेपाल प्रस्थान गर्न लागेको हो। टोलीसँग उच्च क्षमताका ड्रोन तथा खोज तथा उद्धारका लागि आवश्यक विशेष प्राविधिक उपकरणहरू रहनेछन्। नेपाली अधिकारीहरूको नेतृत्वमा सञ्चालन हुने खोज तथा उद्धार अभियानमा मलेसियाली टोलीले प्राविधिक सहयोग गर्नेछ।

मलेसियाको यो टोलीको प्रमुख प्राथमिकता बाढी तथा पहिरोपछि नेपालमा सम्पर्कविहीन भएका ५५ जना मलेसियाली नागरिकको खोजी तथा पहिचानमा सहयोग गर्नु रहेको छ। पछिल्लो विवरणअनुसार ७७ जना मलेसियाली नागरिक सुरक्षित अवस्थामा फेला परिसकेका छन् भने ५५ जना अझै सम्पर्कविहीन रहेको मलेसियाली अधिकारीहरूले बताएका छन्।

सम्पर्कविहीन नागरिकको पहिचानका लागि मलेसियाली दूतावास तथा सम्बन्धित नेपाली निकायसँग समन्वय गरी डीएनए नमुना संकलन तथा परीक्षणमार्फत पहिचान प्रक्रिया समेत अघि बढाइनेछ।

यसैबीच, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले नेपालका बाढीपीडितलाई राहत तथा विपद्पछिको पुनःस्थापनाका लागि १० लाख अमेरिकी डलर अर्थात नेपाली रु. १५ करोड बराबरको आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरिसक्नुभएको छ। मलेसियाले नेपालमा उद्धार टोली पठाउने निर्णयसँगै मानवीय सहयोगमा समेत प्रतिबद्धता जनाएको हो।

मलेसियाको परराष्ट्र मन्त्रालयको एक टोली यसअघि नै काठमाडौं पुगेर नेपाली निकाय तथा सम्बन्धित पक्षसँग आवश्यक समन्वय गरिरहेको छ। SMART टोलीको नेपाल प्रस्थानसँगै प्रभावित क्षेत्रमा हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्यमा थप प्राविधिक सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विपद्को कठिन घडीमा मलेसियाले नेपाललाई गरेको यो मानवीय सहयोग दुई देशबीचको मित्रता र सहकार्यको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।