काठमाडौं:= प्रधानमन्त्री बालेन्द्र शाह आज (बुधबार) प्रतिनिधिसभा नियमावलीअनुसार पहिलो पटक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ । गत चैत १३ गते प्रधानमन्त्री नियुक्त हुनुभएका शाह पहिलो पटक सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो ।
आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था छ । नियमावलीमा भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’
नियमावलीको यही व्यवस्था कार्यान्वयनको लागि नेपालको संसदीय इतिहासमा पहिलो पटक सदनबाट प्रधानमन्त्रीलाई ‘रुलिङ’ भएको छ । विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने माग गरेपछि यही भदौ १ गते सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रधानमन्त्री बालेन्द्रलाई रुलिङ गर्नुभएको थियो ।
सभामुखले प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिन रुलिङ गर्दै भन्नुभएको थियो, ‘प्रतिनिधिसभाको बैठकमा उपस्थित भई प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु ।’
नियमावलीको दफा ५७ मा प्रत्यक्ष प्रशारण गर्न सकिने विषय छ । जसअनुसार प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारको माध्यमबाट प्रत्यक्ष प्रशारण गर्न सकिने व्यवस्था छ । दफा ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सदस्यले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा तीन दिनअगावै सभामुखलाई गराउनु पर्नेछ ।
प्रतिनिधिसभा नियमावलीको दफा ५९ मा प्रधानमन्त्रीलाई सोध्ने प्रश्नमा सर्त लागू हुने व्यवस्था छ । जसअनुसार प्राप्त प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय सभामुखले गर्नेछन् । प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी अन्य कार्यविधि सभामुखबाट निर्धारण भएबमोजिम हुनेछ । दफा ६० अनुसार यस परिच्छेदअन्तर्गत दिइएको जवाफको सम्बन्धमा सभामा कुनै छलफल गरिने छैन । सभामुखले रुलिङ गरेपछि प्रधानमन्त्री बालेन्द्र आज प्रश्नोत्तरमा सहभागी हुन लाग्नुभएको हो ।
प्रधानमन्त्रीलाई आज ११ जना सांसदले प्रश्न सोध्नेछन् । संसद् सचिवालयका अनुसार सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रश्न सोध्नुहुनेछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले प्रश्न सोध्नु हुनेछ । विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्नाले प्रश्न सोध्ने गरी नाम टिपाउनुभएको छ ।
यस्तै, अर्को विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न सोध्ने तय भएको छ । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्नु हुनेछ । प्रश्न सोध्ने सांसदहरूले प्रश्न सोध्न चाहेको र के प्रश्न सोध्न चाहेको हो त्यो संसद् सचिवालयमा दर्ता गरिसकेका छन् ।
प्रधानमन्त्रीलाई प्रश्न सोध्न सत्तारूढ सांसदको अरुचि
सत्तारूढ दल रास्वपाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न सोध्न अरुचि देखाएका छन् । प्रतिनिधिसभामा प्रतिनिधत्व गर्ने सबै दललाई कम्तीमा एउटा प्रश्न सोध्न दिने र बाँकी प्रश्न दलीय उपस्थितिका आधारमा सोध्न दिने घोषणा सभामुखले गर्नुभएको थियो । जसअनुसार रास्वपा सांसदहरूले सातवटा प्रश्न सोध्न पाउँथे । नेपाली कांग्रेसले दुई, नेकपा एमालेले दुई, नेपाली कम्युनिष्ट पार्टीले दुई र श्रम संस्कृति पार्टी र राप्रपा नेपालले क्रमशः एक–एक प्रश्न सोध्न पाउँथे ।
तर, रास्वपाका केवल तीनजना सांसदले प्रश्न दर्ता गराएका छन् । जबकि रास्वपाका थप चार सांसदले प्रश्न सोध्न पाउँथे । रास्वपा सांसदहरूले प्रश्न दर्ता गर्न किन अरुचि देखाए ? त्यो भने खुलेको छैन । जबकि रास्वपा महामन्त्रीसमेत रहेका सांसद विपिनकुमार आचार्यले नै संसद्मा प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने धारणा राख्नुभएको थियो । प्रतिनिधिसभा बैठकमा रास्वपाकै सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न पनि सोधिरहेका छन् ।




















