आराधना गर्दैमा राजतन्त्र फर्किँदैन : सञ्चारमन्त्री

काठमाडौं । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिहानमा आराधना गर्दैमा मरेको राजतन्त्र नफर्किने बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले मरिसकेको राजतन्त्रले ‘फणा’ उठाउन नसक्ने ठोकुवा गरे । 

‘जतिसुकै कराए पनि चिहानमा आराधना गरेर राजतन्त्र फर्किँदैन । गतिको नियम अगाडि बढ्ने हो, पछाडि फर्किने होइन,’ उनले भने, ‘अब मरेको राजतन्त्रले फणा उठाउन सक्दैन ।’ नेपाली जनताले लडेर ल्याएको लोकतन्त्र बचाउने जिम्मेवारी सबैको भएकाले अब पछाडि फर्किन नसकिने उनको भनाइ थियो ।

राजतन्त्रका नाममा रमाउनेप्रति टिप्पणी गर्दै उनले तिनीहरूको भ्रमबाट नेपाली समाजलाई उठाउनुपर्नेमा जोड दिए । ‘जनता पनि एकजुट हुनुपर्छ । लोकतन्त्र सरकारको ठेक्का हो भने केही छैन । होइन भने जनता पनि बोल्नुपर्छ,’ उनले भने, ‘अहिलेको लोकतन्त्र कमजोर जगमा बनेको होइन । २०१७ सालको जस्तो होइन । अहिलेको युग २०७० सालको हो ।’

राजतन्त्र फर्किन सक्ने डरले सर्वदलीय बैठक नबोलाइएको प्रष्ट्याउँदैै सञ्चारमन्त्री बाँस्कोटाले ठट्यौली पारामा प्रश्न गरे, ‘कुन देशको राजा ? लावण्य देशको ? राजतन्त्र एकादेशको कथा भइसक्यो । अब इतिहासमा पढ्ने छन् बाईसे, चौबीसे राजादेखि अन्तसम्मको कुरा ।’ जनताले प्रगति, परिवर्तन र शान्ति चाहेको बताउँदै उनले ‘भूपू मायालु’ ले चाहँदैमा राजतन्त्र नफर्किने बताए । 

मन्त्री बाँस्कोटाले सञ्चारमाध्यमले उत्तेजना फैलाउने काम गर्न नहुने भन्दै जिम्मेवार प्रेसको भूमिका निर्वाह गर्न आग्रह गरे । युट्युबमार्फत जनतालाई दिग्भ्रमित तुल्याउने काम भइरहेको उनको भनाइ थियो । युट्युबरलाई कटाक्ष गर्दै उनले भने, ‘अस्ति सिंहदरबारमा कर्मचारी मृत्यु भएको दिनभित्र पस्न पाएनछन् । नत्र के–के रहस्य भनेर सनसनी मच्चाउँथे ।’

मन्त्री बाँस्कोटाले युट्युबर र सामाजिक सञ्जालले समाजलाई दिग्भ्रमित बनाएको बताए । ‘युट्युब मिडिया हो कि होइन ? यसैका लागि सूचना प्रविधि ऐन ल्याइएको हो,’ उनले भने । ‘सोसल मिडिया ट्रायल’ भनेकोमा आपत्ति जनाउँदै उनले अदालत नै सबैभन्दा ठूलो ‘ट्रायल’ भएको जिकिर गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर सक्कली, नक्कली र डेड्अक्कली बहसहरू चलेको टिप्पणी गरे । ‘प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर सक्कली, नक्कली र डेडअक्कली बहसहरू चलिरहेकै छ,’ मन्त्री बाँस्कोटाले भने, ‘सक्कली कुरा १२ वर्षअगाडि मिर्गौला ट्रान्सफर भएको हो । नक्कली कुरा के जानीवरी जोतिषलाई हेराएर आएर समाचार लेख्ने, फेसबुकमा ट्विट गर्ने । डेड्अक्कली कुरा स्वास्थ्य लाभको कामना पनि गरियो कि गरिएन भनेर बहस झिक्ने कुरा हो ।’ 

बाँस्कोटाले प्रधानमन्त्री ओली नियमित फलोअपका लागि सिंगापुर गएको जानकारी दिए । ‘हिजो राति ११ बजेसम्म मन्त्रिपरिषद्मा थियौं । यो तीन दिनमा तीन दिन नै मन्त्रिपरिषद् बैठक बसेको थियो । आजै उहाँ जानुभयो । उहाँ बिरामी जस्तो देखिनुहुन्थ्यो ?’ उनले प्रश्न गर्दै भने, ‘यो फलोअप हो र थप परीक्षण । औषधि अर्को चलाइएको छ ।’

उनले प्रधानमन्त्री ओलीले आफू स्वस्थ रहेको र अर्को चुनावका लागि तयार रहन प्रतिपक्षीलाई चुनौती दिएको विषयलाई पनि पत्रकार सम्मेलनमा स्मरण गराए । ‘उहाँ आफैंले पनि भन्नुभएको छ– अर्को चुनावको पनि सामना गर्न तयारै छु । म बाँच्दै मुकाबिला गर्ने आँट गर्नप¥यो । मेरो बारेमा चिन्ता नगर्नु भन्नुभएको छ,’ मन्त्री बाँस्कोटाले भने ।

उनले प्रधानमन्त्री ओली देशबाहिर रहेका बेला पनि मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिए । सरकारको कार्यसम्पादन नियमावली २०६४ संशोधन गरेर प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेका बेला ‘भिडियो कन्फरेन्स’ लगायत प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरिएको उनको भनाइ थियो ।