मलेसियामा कामदार भिसामा अवैध व्यापार,व्यवसाय गर्ने विदेशी र सहयोगी स्थानीयलाई कारबाही गरिने।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा विदेशी नागरिकलाई स्थानीय मलेसियन नागरिकको नाममा व्यवसायको इजाजतपत्र प्रयोग गरेर अवैध रूपमा व्यापार सञ्चालन गर्न दिने व्यक्ति, व्यवसायका मालिक तथा सहयोगीमाथि समेत कडा कारबाही गरिने भएको छ।

मलेसियाको आन्तरिक मामिला मन्त्रालय (केडीएन) अन्तर्गतको अध्यागमन विभाग (जेआईएम) ले स्थानीय नागरिकले आफ्नो व्यवसायको इजाजतपत्र विदेशीलाई प्रयोग गर्न दिएर गैरकानुनी गतिविधि सञ्चालन गराउने कार्यलाई गम्भीर रूपमा लिएको जनाएको छ।

अध्यागमन विभागका महानिर्देशक दातुक जकारिया शाबानका अनुसार, अस्थायी रोजगार भ्रमण अनुमति (पीएलकेएस) तथा सामाजिक भ्रमण अनुमति (पीएलएस) भएका विदेशी नागरिकले मलेसियामा स्वतन्त्र रूपमा व्यवसाय सञ्चालन गर्न वा व्यवसायिक प्रतिष्ठान व्यवस्थापन गर्न पाउँदैनन्।

उनका अनुसार, अनुमति प्राप्त नगरी व्यापार गर्ने वा व्यवसायिक प्रतिष्ठान सञ्चालन तथा व्यवस्थापन गरेको पाइएमा अध्यागमन अनुमति पत्रका सर्त उल्लङ्घन गरेको अभियोगमा अध्यागमन ऐन १९५९/६३ अनुसार कारबाही गर्न सकिनेछ।

जकारियाले गैरकानुनी गतिविधि नियन्त्रण गर्न स्थानीय निकाय, आन्तरिक व्यापार तथा जीवनयापन लागत मन्त्रालय, मलेसिया प्रहरी र सम्बन्धित निकायसँगको सहकार्य थप सुदृढ बनाइने बताए।

उनका अनुसार, व्यवसायको इजाजतपत्रलाई गैरकानुनी गतिविधि लुकाउने माध्यम बनाउने व्यक्ति तथा समूहको पहिचान गरी कारबाही गरिनेछ। कारबाही प्रत्यक्ष रूपमा व्यवसाय सञ्चालन गर्ने व्यक्तिमा मात्र सीमित नराखी त्यसका योजनाकार, व्यवसायका मालिक र गैरकानुनी गतिविधिमा संलग्न सहयोगीमाथि समेत केन्द्रित गरिने उनले स्पष्ट पारे।

अध्यागमन विभागले गैरकानुनी गतिविधि नियन्त्रणका लागि नियमित निरीक्षण, सचेतना कार्यक्रम तथा विदेशी नागरिक र रोजगारदातालाई कानुनी जिम्मेवारीबारे जानकारी दिने कार्यलाई पनि निरन्तरता दिने जनाएको छ।

जकारियाले मलेसियामा बसोबास गर्ने प्रत्येक विदेशी नागरिकले देशको कानुन तथा आफूले प्राप्त गरेको अनुमति पत्रका सर्त अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिए। अनुमति पत्रको दुरुपयोग गर्ने वा त्यसका सर्त उल्लङ्घन गर्ने विदेशी नागरिकमाथि कानुनअनुसार कडा कारबाही गरिने उनले बताए।

स्रोत : हरियान मेट्रो