क्वालालम्पुर (मलेसिया):= मलेसियाको मलाक्का राज्यस्थित आयेर केरोह क्षेत्रमा गरिएको संयुक्त अनुगमन तथा कारबाहीका क्रममा ४ नेपालीसहित ७ जना विदेशी नागरिक पक्राउ परेका छन्।
हाङ तुआह जाया नगरपालिका (MPHTJ) को प्रवर्तन विभागले २३ अक्टोबर २०२६ मा मलेसियाको अध्यागमन विभाग (JIM) मलाक्का र सङ्घीय कृषि बजार प्राधिकरण (FAMA) सँगको सहकार्यमा थोक बजार तथा व्यावसायिक स्थलमा संयुक्त कारबाही गरेको हो। उक्त अभियान MPHTJ थोक बजार र आयेर केरोहस्थित रुमाह पाङ्सा मुर्नी क्षेत्रमा सञ्चालन गरिएको थियो।
थोक बजारमा गरिएको जाँचका क्रममा छापा मारिएको समयमा कुनै पनि विदेशी नागरिकले व्यापार सञ्चालन गरिरहेको नभेटिएको जनाइएको छ। यद्यपि, अध्यागमन विभागले थप अनुसन्धानका लागि दुई जना बङ्गलादेशी नागरिकलाई नियन्त्रणमा लिएको थियो।
त्यसपछि रुमाह पाङ्सा मुर्नी क्षेत्रमा गरिएको जाँचका क्रममा आवश्यक अनुमतिपत्रबिना सञ्चालन भइरहेका व्यवसाय फेला परेका थिए। ती व्यवसायमा नगरपालिकाको प्रवर्तन विभागले छापा मार्दै व्यापारमा प्रयोग गरिएका उपकरण तथा सामग्री जफत गरेको थियो।
सोही क्रममा अध्यागमन विभागले थप अनुसन्धानका लागि चार जना नेपाली र एक जना इन्डोनेसियाली नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ। नगरपालिकाका अनुसार अनुमतिपत्रबिना सञ्चालन गरिएका व्यवसायमाथि सन् २०१० को MPHTJ व्यापारसम्बन्धी उपनियमअनुसार कारबाही गरिएको हो।
पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि अध्यागमन विभागको कार्यालय “डिटेन्सन सेन्टर” पठाइएको छ ।




















