महँगीको मारले गर्दा मलेसियाली युवाहरु विवाह र सन्तान जन्माउने योजनाबाट पछि हट्दै।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा बढ्दो महँगी र आर्थिक दबाबका कारण युवाहरू आफ्नो व्यक्तिगत जीवनका महत्त्वपूर्ण निर्णयहरू पछि सार्न बाध्य भएका छन्। हालै सार्वजनिक भएको ‘रिंगिटप्लस मलेसियाली वित्तीय साक्षरता सर्वेक्षण २०२६’ अनुसार २५ देखि ४४ वर्ष उमेर समूहका प्रत्येक चार जना मलेसियालीमध्ये एक जना (२४.३ प्रतिशत) ले आर्थिक अभावकै कारण विवाह गर्ने वा बच्चा जन्माउने योजनालाई स्थगित वा रद्द गरेका छन्।

यो समस्या विशेष गरी २५ देखि ३४ वर्षका युवाहरूमा अझ बढी (२८.९ प्रतिशत) देखिएको छ, जसले आर्थिक असुरक्षाका कारण आफ्नो पारिवारिक भविष्य निर्धारण गर्न सकिरहेका छैनन्। सर्वेक्षणका अनुसार महिनाको RM २,००० देखि RM ४,९९९ सम्म आम्दानी गर्ने मध्यम तथा न्यून वर्गीय युवाहरू यो समस्याबाट सबैभन्दा बढी प्रभावित छन्।

कमजोर आर्थिक स्थिति, दैनिक जीवनयापनको बढ्दो लागत र विवाह तथा सन्तानको पालनपोषणमा हुने ठूलो खर्चको डरले युवाहरूमा यस्तो निराशा पैदा गरेको हो। यो तथ्याङ्कले मलेसियाको वर्तमान आर्थिक अवस्थाले युवा पुस्ताको सामाजिक र पारिवारिक जीवनमा गम्भीर र दूरगामी असर पारिरहेको स्पष्ट पार्छ।