उपाधिका लागि किर्गिस्तान र उज्वेकिस्तान भिड्ने

काठमाडौं । नेपालमा आयोजना भइरहेको एसियन भलिबल फेडेरेशन (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगिताको फाइनलमा किर्गिस्तान र उज्वेकिस्तान भिड्ने भएका छन् । नेपाल भलिबल संघले आयोजना गरेको इतिहासकै ठूलो प्रतियोगिताअन्तर्गत बिहीबार भएका सेमिफाइनल खेलहरू जित्दै किर्गिस्तान र उज्वेकिस्तानले उपाधि भेट पक्का गरेका हुन् ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता तुर्कमेनिस्तानलाई हराउँदै किर्गिस्तानले पाँचांै संस्करणको प्रतियोगिताको फाइनलमा स्थान पक्का ग¥यो । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कभर्ड हलमा भएको खेलमा तर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै किर्गिस्तान उपाधि नजिक पुगेको हो ।

पहिलो र चौथो संस्करणको विजेता तुर्कमेनिस्तानलाई तेस्रो संस्करणको च्याम्पियन कीर्गिस्तानले २५–१७, २५–१८ र २५–२२ को सेटमा पराजित गरेको थियो । दुवै टोली समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुगेका थिए । तुर्कमेनिस्तानले अब तेस्रो स्थानका लागि शनिबार मादिभ्ससँग खेल्नेछ ।

यस्तै साँझ भएको दोस्रो सेमिफाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उज्वेकिस्तानले किर्गिस्तानसँगको उपाधि भेट पक्का गरेको हो । उज्वेकिस्तानले माल्दिभ्सलाई २५–२०, २५–१९ र २५–२१ को सेटमा पराजित ग¥यो । माल्दिभ्सले समूहको अन्तिम खेलमा नेपाललाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

अब शनिबार उज्वेकिस्तानले उपाधिका लागि किर्गीस्तानको सामना गर्नेछ । त्यसअघि शुक्रबार नेपाल र अफगानिस्तानबीच पाँचौं स्थानका लागि प्रतिस्पर्धा हुनेछ । भदौ २ देखि सुरु भएको प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीबीच प्रतिस्पर्धा भएको थियो ।

यही च्याम्पियनसिपमा नेपालले दुई वर्षअघि माल्दिभ्समा भएको काँस्य पदक जितेको थियो । नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको त्यो एकमात्र पदक हो । यस संस्करणमा भने नेपालले कम्तिमा फाइनलसम्म पुग्ने लक्ष्य लिए पनि समूह चरणका दुबै खेलमा पराजित हुँदै बाहिरिएको थियो । नेपाल पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा माल्दिभ्सविरुद्ध सोझो सेटमा पराजित भएको थियो ।