काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवायलय सदस्य माधवकुमार नेपालको लिखित असहमतिबारे छलफल भएन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा नेता नेपालको लिखित असहमतिले छलफलका लागि प्रवेश नै पाएन ।
उनले पार्टी विधि, पद्धति र विधानअनुसार नचलेको भन्दै मंगलबार सचिवालयमा लिखित असहमति दर्ज गरेका थिए । नेता नेपालले विधानअनुरूप पार्टी विधि, पद्धति, मापदण्ड र कमिटी प्रणालीअनुसार चल्नुपर्नेमा त्यसो नभएको उल्लेख गरेका थिए ।
उनले ‘एक व्यक्ति एक प्रमुख जिम्मेवारी’ को कुरा अघि सार्दै यो वैधानिक व्यवस्था पार्टी अध्यक्षद्वयदेखि सबै व्यक्तिमा लागू हुनुपर्ने माग गरेका छन् । उनको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद रोज्नुपर्नेछ ।
सचिवालय बैठकले नेता नेपालले दर्ज गराएको सातबुँदे असहमतिमाथि छलफल आवश्यक नठानेको स्रोतको भनाइ छ । नेपालले दर्ता गराएको असहमतिबारे सचिवालयमा कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले पुष्टि गरेका छन् । ‘नेता नेपालको असहमतिका विषयमा छलफल गर्नुपरे छुट्टै प्रस्तावमा छलफल गर्न सकिन्छ,’ सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘सचिवालयले छलफल नै गर्नुपर्छ भन्ने नठानेर माधव नेपालको फरक मतमा कुनै छलफल नै नगरिएको हो ।’
बुधबार बसेको सचिवालय बैठकमा पार्टीको महानगरपालिकास्तरीय समितिको अध्यक्ष र सचिव चयनबारे छलफल सुरु भएको छ । प्रवक्ता श्रेष्ठले महानगर अध्यक्ष र सचिव चयनसँगै प्रवास कमिटी र आयोगहरूका बारेमा पनि छलफल भए पनि निर्णय नभएको जानकारी दिए ।
उनका अनुसार बिहीबार बिहान ८ बजेका लागि बोलाइएको सचिवालय बैठकले महानगरपालिकास्तरीय समितिको अध्यक्ष र सचिव चयनबारे निर्णय गर्नेछ । नेकपाले ६ वटा महानगरपालिकामा पार्टीका इञ्चार्ज र सहइञ्जार्ज तोके पनि अध्यक्ष र सचिव तोक्न बाँकी छ । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको भेटका बारेमा सदस्यहरूलाई जानकारी गराएका थिए ।



















