नेपालको फितलो प्रदर्शन

काठमाडौं । घरेलु मैदानमा भएको सबैभन्दा ठूलो भलिबल प्रतियोगिता पाँचौं एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा फितलो प्रदर्शन गर्दै नेपाल समूह चरणबाटै बाहिरिएको छ । लगनखेलस्थित आर्मीको कभर्डहलमा बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल माल्दिभ्ससँग ३–० को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

यसअघि सोमबार समूह ‘बी’मा रहेको नेपाल पहिलो खेलमा किर्गिस्तानसँग पनि ३–० ले पराजित भएको थियो । अर्को खेलमा माल्दिभ्सपनि किर्गिस्तानसँग पराजित भएपछि नेपाल र माल्दिभ्स दुवैलाई बुधबार जित्नैपर्ने दबाब थियो ।

घरेलु मैदानमा ठूलो संख्यामा रहेका दर्शकको साथ पाए पनि नेपालले त्यसको फाइला उठाउन सकेन् । नेपाल पहिलो सेटमा २२–२५, दोस्रो सेट २१–२५ र तेस्रो सेट १४–२५ ले पराजित हुन पुग्यो । प्रतियोगितामा कम्तिमा फाइनलसम्म पुग्दै इतिहास रच्ने लक्ष्य राखेको नेपालले लक्ष्य पूरा गर्न सकेन् ।

पहिलो सेटमा माल्दिभ्सले सर्भिस गर्दै खेलको सुरुवात गरेपनि राजेन्द्र विष्टको स्पाइकसँगै पहिलो अंक नेपालले बटुलेको थियो । त्यसपछि भने लगातार तीन अंकसहित माल्दिभ्सले अग्रता लियो । ८–३ ले पछि रहेको अवस्थामा पुनरागमन गर्दै नेपालले १०–१० को बराबरीमा ल्याएको थियो । लगत्तै माल्दिभ्सले पुनः अग्रता लियो । त्यसपछि पटक–पटक नेपाल नजिक पुग्ने प्रयास गरेपनि अन्ततः पहिलो सेटमा २२–२५ ले पराजित हुन पुग्यो ।

दोस्रो सेटमा नेपालले सुरुमा लगातार अग्रता बनायो । तर नेपाली खेलाडीको गल्तीको फाइदा उठाउँदै लगातार ४ अंक जोडेको माल्दिभ्सले खेल ९–९ को बराबरीमा ल्यायो । माल्दिभ्सलाई १२–१३ को स्थितिमा लिएको अग्रतालाई कायमै राख्दा दोस्रो सेट २१–२५ ले जित्यो ।

दोस्रो सेटमा भने माल्दिभ्सले सुरुवातबाट अग्रता लियो । ४–२ ले पछि रहँदा नेपालले खेलाडी परिवर्तनमा गडवडी गरेपछि रातो कार्ड पाउनुका साथै १ अंक पनि गुमाएको थियो । त्यो क्रम जारी रहँदा एक समय नेपाल २–९ ले पछि परेको थियो । नेपालले लगातार रिसिभ, ब्लक र स्पाइकमा अंक गुमाइरहँदा माल्दिभ्सको अग्रता १६–८ मा पुग्यो । नेपालले पाएका अवसरहरू समेत सदुपयोग गर्न सकेन र तेस्रो सेट १४–१५ को फराकिलो अन्तरले हार व्यहो¥यो ।

यो सँगै समूह बीबाट किर्गिस्तान र माल्दिभ्सले सेमिफाइनलमा स्थान बनाएका छन् । नेपाल र माल्दिभ्स अन्तर्राष्ट्रिय भलिबलमा भिडेको यो सातौंपटक हो । जसमा नेपालले ४ पटक र माल्दिभ्सले ३ पटक जित हात पारेका छन् ।

 यसअघि तेस्रो संस्करणको सेमिफाइनलमा माल्दिभ्सलाई नै पराजित गर्दै नेपालले कास्य पदक जितेको थियो । अन्तर्राष्ट्रिय भलिबलमा नेपालले पाएको त्योमात्रै एक पदक हो ।

उज्वेकिस्तान सेमिमा

प्रतियोगिता अन्तर्गत बुधबारनै भएको अर्को खेलमा अफगानिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै उज्वेकिस्तानले सेमिफाइनलमा स्थान बनाएको छ । उज्वेकिस्तानले अफगानिस्तानलाई २५–२३, २९–२७ र २९–२७ ले पराजित गरेको थियो ।

जितसँगै समूह ‘ए’को उज्वेकिस्तानले ३ खेलबाट शतप्रतिशत जितसहित ६ अंक जोड्दै सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै ३ खेलबाट २ अंक जोडेको अफगानिस्तान भने बाहिरिएको छ ।