कश्मीर विवाद : अन्तर्राष्ट्रिय अदालत जाने पाकिस्तानको तयारी

इस्लामावाद (एजेन्सी) । पाकिस्तानले कश्मीर विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने आप्mनो योजना भएको बताएको छ । भारत प्रशासित जम्मु कश्मीर राज्यलाई दिइएको विशेष संवैधानिक मान्यता भारत सरकारले अन्त्य गरिदिएपछि पाकिस्तानले अन्तर्राष्ट्रिय अदालत गुहार्न लागेको हो ।

भारतको हस्तक्षेप विरुद्ध पाकिस्तानले भारतसँग व्यापारिक तथा यातायात सम्बन्ध भंग गर्दै भारतीय दूतलाई फिर्ता पठाइदिइएको थियो । सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएपछि कश्मीरको स्वामित्वको विषयमा ती दुई देशबीच तनाव रहँदै आएको छ । ‘हामीले कश्मीरको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजाने निर्णय गरेका छौँ,’ एआरवाई न्युज टिभीसँग कुराकानी गर्दै पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेसीले भने । उनका अनुसार सबै कानुनी पक्षबारे विचार गरेपछि सो निर्णय लिइएको हो । 

मुस्लिमबहुल कश्मीरमा भारत सरकारले मानव अधिकार उल्लंघन गरेको भन्दै सो मुद्दा त्यसकै सेरोफेरोमा हुने कुरेसीले बताए । भारतले भने कश्मीरमा मानवाधिकार उल्लंघन गर्दै आएको अस्वीकार गरेको छ । यसैबीच ब्रिटिस प्रधानमन्त्री बोरिस जन्सनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गर्दै कश्मीर विवाद भारत र पाकिस्तानले संवादबाट समाधान गर्नुपर्ने बताएका छन् ।  पाकिस्तानले मुद्दा हाल्यो भने अन्तर्राष्ट्रिय अदालतको भूमिका यस विषयमा परामर्शदाताको जस्तो हुन्छ । तर, दुवै देशले अदालतको निर्णय आफूलाई मान्य हुने कुरामा पहिला नै सहमति जनाए भने उसको भूमिका त्यतिमा सीमित हुँदैन । 

हालै हेगस्थित उक्त अदालतमा भारतले उसको एक नागरिक कुलभूषण जाधवलाई पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएको विरुद्ध मुद्दा हालेको थियो । अन्तर्राष्ट्रिय अदालतले जासुस भएको आरोप लगाइएका भूतपूर्व भारतीय नौसैनिक अधिकारी कुलभूषण जाधवलाई सुनाइएको मृत्युदण्ड पुनरावलोकन गर्न पाकिस्तानलाई आदेश दिएको थियो । पाकिस्तानको अशान्त बलोचिस्तान प्रान्तमा सन् २०१६ मा समातिएका कुलभूषण जाधवलाई जासुस भएको भन्दै पाकिस्तानको सैनिक अदालतले अर्को वर्ष मृत्युदण्डको सजाय सुनाएको थियो । 

यसै महिनाको सुरुमा भारत सरकारले विवादित कश्मीरको विशेष मान्यता खारेज गरेयता सो क्षेत्रमा चर्को तनाव छ । अगष्ट ५ तारिखमा भारत सरकारले कश्मीरसम्बन्धी निर्णय गरेपछि भारत प्रशासित कश्मीरमा सुरक्षा व्यवस्था कडा तथा यातायात र सञ्चारमा सरकारी नियन्त्रण कायम ग¥यो । सन् १९४७ मा ब्रिटिस शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने । स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यै पनि सम्बन्ध सुमधुर हुन सकेन । सम्बन्धमा तिक्तताको केन्द्रमा सधैं कश्मीर रहृयो । यस अवधिमा दुई देशबीच कैयौं यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव ।