काठमाडौं । बलिउडकी अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । नेपाली चलचित्र ‘पासवर्ड’मा काम गरेकी सन्नी पछिल्लो समय नेपाली मिडियाका लागि समाचार बनिरहेकी छन् । उनले ‘पासवर्ड’मा आइटम नृत्य गरेकी छन् ।
भदौ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको ‘पासवर्ड’को प्रिमियर समारोहमा सन्नी आउने भएकी हुन् । सन्नीले नेपाली दर्शकका लागि एक भिडियो सन्देश पठाएकी छन् । चलचित्रको प्रिमियर प्रदर्शनको तीन दिनअगाडि राजधानीमा हुँदैछ । सन्नीले भिडियोमा भनेकी छन् ‘नमस्ते नेपाल । म सन्नी लियोनी । मैले अभिनय गरेको नेपाली फिचर फिल्म ‘पासवर्ड’ को प्रमोसनल इभेन्ट र प्रिमियरमा सहभागी हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदैछु ।’ उनी तीन दिन नेपाल बस्ने कार्यक्रम छ ।
चलचित्रको प्रिमियरमा सहभागी हुनुपर्ने सर्तसहित निर्माण टिमले सन्नीलाई गीतमा नाच्नका लागि महँगो पारिश्रमिक तिरेको थियो । उनले नेपाली तीन करोड रुपैयाँ पारिश्रमिक दिइएको बुझिएको छ ।
चलचित्रमा अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ, धीरेन शाक्य, विक्रम जोशी, छुल्ठिम गुरूपङलगायत कलाकारको अभिनय छ । सौरभ लामाले खिचेको फिल्मका निर्देशक सम्राट बस्नेत हुन् । चलचित्र हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अजित के. थापा सहनिर्माता हुन् ।




















