
काठमाडौं:= नेपाली क्रिकेट टोलीले एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि जितेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न फाइनलमा युएईलाई ४४ रनले पराजित गर्दै नेपाल दोस्रोपटक प्रिमियर कप च्याम्पियन बनेको हो।
नेपालले प्रस्तुत गरेको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९.२ ओभरमा २६८ रनमै अलआउट भयो। युएईका लागि राहुल चोपडाले उत्कृष्ट शतकीय पारी खेल्दै १०० रनमा अविजित रहे पनि आफ्नो टोलीलाई उपाधि दिलाउन सकेनन्।
युएईका लागि शोहैब खानले ५२, तनिश सुरीले ४२ तथा हरप्रीत सिंहले ३३ रन बनाए। नेपालका बलरहरूले महत्वपूर्ण समयमा विकेट निकाल्दै युएईको लक्ष्य पछ्याउने अभियानलाई रोकिदिए।
नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिए। ललित राजवंशीले दुई विकेट हात पार्दा सन्दीप लामिछाने, रोहित पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र बसिर अहमदले समान एक–एक विकेट लिए।


आसिफको शतकमा नेपालको बलियो स्कोर
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो।
नेपालको इनिङ्समा ओपनर आसिफ शेख नायक बने। उनले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा शानदार १०२ रनको शतकीय पारी खेले। आसिफको शतकले नेपाललाई बलियो स्कोरतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्यो।
त्यसैगरी गुलशन झाले ५२ रनको आक्रामक अर्धशतकीय पारी खेले। अर्जुन कुमालले ४३, कप्तान रोहित पौडेलले ४० तथा दीपेन्द्र सिंह ऐरीले १८ रन बनाए। बसिर अहमद १५ रनमा अविजित रहे।
युएईका इबरार अहमदले नेपालको ब्याटिङमाथि दबाब बनाउँदै चार विकेट लिए। खुजैमा तनवीरले दुई तथा हैदर अली र अदीव उस्मानीले समान एक–एक विकेट लिए।
दोस्रोपटक नेपालको कब्जामा उपाधि
यो नेपालको एसीसी प्रिमियर कपमा दोस्रो उपाधि हो। यसअघि सन् २०२३ मा भएको पहिलो संस्करणको फाइनलमा पनि नेपालले युएईलाई सात विकेटले पराजित गर्दै उपाधि जितेको थियो।
युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै प्रतियोगिताको उपाधि आफ्नो नाममा गरेको थियो।
यसपटक फेरि फाइनलमा युएईलाई नै पराजित गर्दै नेपालले उपाधि आफ्नो पक्षमा पारेको हो।
एसिया कपको टिकट पनि पक्का
प्रिमियर कपको उपाधिसँगै नेपालको अर्को ठूलो उपलब्धि सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ।
नेपालले ब्याटिङमा आसिफ शेखको शतक र गुलशन झाको अर्धशतकबाट बलियो आधार तयार गरेको थियो भने बलिङतर्फ करण केसीसहितका बलरले प्रभावशाली प्रदर्शन गर्दै युएईलाई २६८ रनमै रोक्न सफल भए।
ब्याटिङमा आसिफको शतक, बलिङमा करणको धारिलो प्रदर्शन र समग्र टोलीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले मलेसियाको भूमिबाट एसीसी प्रिमियर कपको दोस्रो उपाधि उचालेको छ।



















