एजेन्सी := पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि चर्चा सुरु भएको छ। यूईएफए नेसन्स लिगअन्तर्गत नर्वेविरुद्ध २–१ गोलको जित निकालेको खेलमा पोर्चुगलका प्रशिक्षक जोर्जे जेसुसले रोनाल्डोलाई मैदानमा उतारेका थिएनन्। त्यसपछि डेनमार्कविरुद्धको खेलअघि भएको प्रशिक्षणमा सहभागी नभई रोनाल्डो होटल फर्किएका थिए।
४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीको क्याम्प छाडेको जानकारी दिएका छन्।
उनले लेखेका छन्,‘राष्ट्रिय टोलीका प्रशिक्षकको पत्रकार सम्मेलनपछि र पोर्चुगिज फुटबल महासंघका अध्यक्षसँग कुराकानी गरेपछि मैले राष्ट्रिय टोलीको क्याम्प छाड्ने निर्णय गरेको छु।’
पाँचपटकका बालोन डी’ओर विजेता रोनाल्डोले आफ्नो निर्णयको वास्तविक कारण समय आएपछि सार्वजनिक गर्ने बताएका छन्। रोनाल्डो पोर्चुगलका सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता तथा सर्वाधिक क्याप जित्ने खेलाडी हुन्। उनले हालसम्म राष्ट्रिय टोलीका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन्।
उनले भनेका छन्, ‘समय आएपछि म सबै पोर्चुगिज जनतालाई राष्ट्रिय टोलीबाट अलग हुने कारणको सत्य बताउनेछु। म यो टोलीप्रति सधैं समर्पित रहँदै आएको छु।’
नेसन्स लिगमा पोर्चुगलले आफ्नो पहिलो खेलमा वेल्सलाई १–० गोलले हराएको थियो। उक्त खेलमा रोनाल्डोले सहभागिता जनाए पनि अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका थिएनन्। त्यसपछि नर्वेविरुद्धको खेलमा उनी पूरै ९० मिनेट बेन्चमा बसे।
करिब १८ वर्षपछि रोनाल्डो पहिलोपटक पोर्चुगलको खेलमा पूरै समय बेन्चमा बसेका हुन्। त्यसपछि प्रशिक्षक जेसुसको निर्णयलाई लिएर चर्चा चुलिएको थियो। रोनाल्डोलाई नर्वेविरुद्ध मैदानमा नउतारेपछि प्रशिक्षक जेसुसले टोली सञ्चालनमा आफ्नो अधिकार स्पष्ट गरेका थिए। उनले भनेका थिए, ‘निर्णय गर्ने सर्वोच्च अधिकार प्रशिक्षकसँग हुन्छ र कुनै पनि खेलाडीले मेरो निर्णय परिवर्तन गर्न सक्दैन।’
जेसुसका अनुसार कुनै खेलाडीलाई कति समय खेलाउने वा मैदानमा उतार्ने–नउतार्ने भन्ने निर्णय पूर्ण रूपमा प्रशिक्षकमा निर्भर हुन्छ। उनले भनेका छन्, ‘कुनै खेलाडीलाई कति समय खेलाउने वा उसलाई खेलाउने कि नखेलाउने भन्ने निर्णय पूर्ण रूपमा मेरो हातमा हुन्छ।’
यसैबीच रोनाल्डोलाई लिएर पोर्चुगलको राष्ट्रिय टोलीमा देखिएको परिस्थितिबारे छलफल गर्न पोर्चुगल फुटबल महासंघका अध्यक्ष पेद्रो प्रोएन्साले प्रशिक्षक जेसुस र रोनाल्डोसँग भेट गर्ने तयारी गरेको बताइएको छ।
प्रोएन्साले बुधबार अजोरेसमा जिब्राल्टरविरुद्ध हुने पोर्चुगलको यू–२१ टोलीको खेल हेर्ने कार्यक्रम तय गरेका थिए।
तर‚ रोनाल्डोलाई लिएर विकसित घटनाक्रमपछि उनले आफ्नो भ्रमण कार्यक्रम परिवर्तन गरेको समाचार सार्वजनिक भएको छ। फ्रान्सेली सञ्चारमाध्यम ‘फुट मर्काटो’का अनुसार प्रोएन्साले अजोरेसको भ्रमण रद्द गरेर कोपेनहेगन हुँदै माल्मो जाने तयारी गरेका छन्। त्यहाँ उनले जेसुस र रोनाल्डोसँग आपत्कालीन बैठक गर्ने बताइएको छ।
रोनाल्डोले हालसम्म अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको औपचारिक घोषणा भने गरेका छैनन्। तर‚ राष्ट्रिय टोलीको क्याम्प अचानक छाडेपछि उनको पोर्चुगल करिअरलाई लिएर नयाँ अड्कलबाजी सुरु भएको छ।




















