मलेसियामा कार्यरत नेपाली श्रमिक कविराजले झुन्डिएर गरे आत्महत्या।

क्वालालम्पुर (मलेसिया):= रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत मकवानपुरको राक्सिराङ गाउँपालिका–४ निवासी कविराज बलको निधन भएको छ। मलेसियाको क्लाङ क्षेत्रमा उनको निधन भएको हो।

प्राप्त जानकारीअनुसार, विगत चार वर्षदेखि मलेसियाको एक सुपरमार्केटमा कार्यरत बल गत अक्टोबर २० तारिख मंगलबारको दिन पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए। उनको निधनको खबरले मलेसियामा रहेका नेपाली समुदाय तथा स्वदेशमा रहेका परिवारजन शोकमा डुबेको छ।

विदेशमा रोजगारी गरेर परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले मलेसिया पुगेका बलको असामयिक निधनले परिवारजनमा अतुलणीय क्षति पुगेको छ।

मृतक बलको शव आगामी अक्टोबर २८ तारिख सम्ममा नेपाल पठाउने तयारी नेपाली राजदूतावास, मलेसियाले गरेको जानकारी प्राप्त भएको छ। शव नेपाल पठाउने प्रक्रिया पूरा भएपछि परिवारजनले अन्तिम संस्कारका लागि शव बुझ्ने अपेक्षा गरिएको छ।

यस दुःखद घडीमा स्वर्गीय कविराज बलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, शोकमा रहेका परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी प्रार्थना गर्दछौँ।