दोस्रो मकालु गोल्डकपको तयारी पूरा, १६ नेपाली टोली भिड्दै।

जोहोर(मलेसिया):= मलेसियाको जोहोरमा नेपाली फुटबलप्रेमीमाझ लोकप्रिय दोस्रो मकालु गोल्डकप–२०२६ यहीँ अगस्ट ३० र ३१ तारिख आयोजना हुने भएको छ।

प्रतियोगितामा मलेसियाका विभिन्न स्थानमा रहेका नेपाली फुटबल क्लबका १६ टोली सहभागी हुँदैछन्। प्रतियोगिता जोहोरको केम्पास आवाना स्टेसियम (Kempas Awana Stadium) मा सञ्चालन हुनेछ।

मकालु एफसी जोहोर, मलेसियाको आयोजनामा हुने प्रतियोगिताको खेलतालिकाअनुसार टोलीहरूलाई पोल ‘ए’ र पोल ‘बी’ मा विभाजन गरिएको छ।

पोल ‘ए’ अन्तर्गत मकालु एफसी, पुर्बेली एफसी, तामान यू एफसी, योङ थन्डर एफसी, एन.पेनाङ एफसी, न्यू ब्वाइज एफसी, एसबीवाईसी एफसी र आरटी एफसी रहेका छन्।

त्यस्तै पोल ‘बी’ मा शिमानो एफसी, मनकामना एफसी, हिमालयन एफसी, सेनाई एफसी, सगरमाथा एफसी, न्यू स्टार एफसी, पीबीएफसी र कम्टेक एफसी सहभागी हुनेछन्।

प्रतियोगिताको उद्घाटन खेल अगस्ट ३० बिहान ९ बजे हुने तय गरिएको छ। त्यसपछि बिहानदेखि रातिसम्म विभिन्न चरणका खेलहरू सञ्चालन हुनेछन्। अगस्ट ३० मा क्वार्टरफाइनल चरणका खेलहरू सम्पन्न भएपछि अगस्ट ३१ मा सेमिफाइनल हुँदै साँझ ६ बजे फाइनल खेल आयोजना गरिनेछ।

आयोजकका अनुसार मकालु गोल्डकप नेपाली समुदायबीच खेलकुदको विकास, नेपाली फुटबल क्लबहरूबीच आपसी सम्बन्ध विस्तार तथा प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

प्रतियोगितालाई लिएर जोहोरमा रहेका नेपाली फुटबलप्रेमीहरूमा समेत उत्साह बढेको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टीमबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।