भैरहवा । मुख्य विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको सरकार दुई तिहाइ मतको आडमा लोकतन्त्र मास्न उद्यत रहेको आरोप लगाएका छन् । प्रदेश ५ का महाधिवेशन प्रतिनिधिहरूका लागि सोमबारबाट भैरहवामा सुरु भएको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले कम्युनिस्ट नेतृत्वको सरकार दुई तिहाइ मतको आडमा लोकतन्त्र सिध्याउन लागेको आरोप लगाएका हुन् ।
देउवाले राणा, पञ्चायत र ज्ञानेन्द्र शाहविरुद्ध लडेर ल्याएको प्रजातन्त्र मास्न उद्यत केपी ओली नेतृत्वको सरकारलाई पनि कांग्रेसले सिध्याइदिने चेतावनीसमेत दिए । उनले सरकारविरुद्ध संघर्षका लागि तयार रहन कार्यकर्तालाई फेरि निर्देशन दिए ।
सरकारले संसदमा दर्ता गराएका सम्पूर्ण विधेयकहरू लोकतान्त्रिक मूल्य र मान्यताविपरीत ल्याइएको उल्लेख गर्दै उनले ती विधेयक जस्ताको त्यस्तै पास भए लोकतन्त्र सकिने बताए । चुनावअघि कम्युनिस्ट सरकार आएमा जनताले बोल्न पनि पाउँदैनन् भनेर आफूले भनेको स्मरण गर्दै सभापति देउवाले भने, ‘अहिले सरकारले जनताका अधिकारहरू खोस्दै छ । मैले त पहिला नै भनेको थिएँ नि, बोल्न पनि पाइँदैन भनेर ।’
उनले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन गर्नुका साथै मिडियालाई पनि नियन्त्रण गर्न खोजेको आरोप लगाए । ‘मानव अधिकार आयोग स्वतन्त्र हुनुपर्छ तर सरकारले आयोगको अधिकार खोस्न खोजेको छ,’ उनले भने, ‘सरकार प्रजातन्त्र सिध्याउने दिशातर्फ अघि बढ्न खोजेको छ । मिडिया काउन्सिल विधेयक प्रजातन्त्रविरुद्धको हस्तक्षेप हो ।’
सभापति देउवाले लोकतन्त्रको रक्षाका लागि कांग्रेसले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत ल्याइएका कुनै पनि विधेयक पारित हुन नदिने बताए । ‘त्यसविरुद्धको खबरदारीका लागि जनता सडकमा आउनुपर्ने हुनसक्छ,’ उनले भने ।
देउवाले पार्टीमा अन्तरघात गर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिए । उनले भने, ‘पार्टीलाई मर्यादित र अनुशासित ढंगबाट सञ्चालन गर्न निर्वाचनमा अन्तरघात गर्ने जोसुकैलाई पनि पार्टीले कारबाही गर्छ ।’
प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाइ बहुमत दिएर पठाएको कम्युनिस्ट सरकारले बहुमत दुरुपयोग गरेको आरोप लगाए । उनले दुई तिहाइको शक्ति अख्तियार र अदालत तर्साउनमा प्रयोग नगर्न सरकारलाई सुझाव दिए । दुईतिहाइको आडमा सरकारले संवैधानिक निकायको तेजोबध गरेको भन्दै पौडेलले प्रजातन्त्रविरोधी गतिविधिविरुद्ध कांग्रेस चुप लागेर नबस्ने बताए ।
प्रशिक्षण प्रतिष्ठानका संयोजकसमेत रहेका उपसभापति विमलेन्द्र निधिले लोकतान्त्रिक प्रणालीविरुद्ध सबैभन्दा बढी खतरा सत्ता पक्षबाटै भएको बताए । संघीय सरकारले आमजनतामा संघीय व्यवस्था खराब हो भनेर सन्देश दिन प्रदेश र स्थानीय तहलाई कमजोर बनाएको आरोप लगाए ।
सत्तारूढ दलका नेताहरूले पटक–पटक व्यक्त गरेका संघीयताविरोधी अभिव्यक्तिले सरकार त्यसै दिशातिर अग्रसर भइरहेको संकेत गरेको निधिको भनाइ थियो ।
अर्का उपसभापति विजयकुमार गच्छदारले सत्तारूढ दलका लोकतन्त्रविरोधी गतिविधिमा खबरदारी गर्न पनि कांग्रेस एकजुट हुनुपर्नेमा जोड दिए । उनले अब बन्ने सभापतिले आगामी संसदीय निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउन सक्नुपर्ने बताए । केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सरकारका लोकतन्त्रविरोधी गतिविधिप्रति समयमै गम्भीर हुनुपर्नेमा जोड दिए । उनले सरकारका गतिविधिका बारेमा जनतामाझ भण्डाफोर गर्नुपर्ने बताए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले संसद्मा दर्ता गरेका विधेयक संविधान प्रतिकूल भएको भन्दै त्यसविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
सचेतक पुष्पा भुसालले लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर बनाएर सरकार कम्युनिस्ट अधिनायकवादतिर अग्रसर भएको भन्दै त्यसविरुद्ध सिंगो कांग्रेस एक भएर जानुपर्नेमा जोड दिइन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रममा प्रदेश ५ का तीन सयभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी छन् ।



















