काठमाडौं । सरकारले अजेयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) को अनुमतिपत्र खारेज गरेको छ । कम्पनीले असार मसान्तसम्मको बक्यौता ७९ करोड ९२ लाख तिर्न नसकेपछि नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र खारेज गरेको हो । संसद्को विकास तथा प्रविधि समितिले सर्तअनुसार सेवा प्रवाह नगर्ने तथा बक्यौतासमेत नतिर्ने कम्पनीको अनुमतिपत्र खारेज गर्न निर्देशन दिएको थियो । सोहीअनुसार प्राधिकरणको सञ्चालक समितिको बैठकले हेलो नेपालको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले हिमालय टाइम्सलाई जानकारी दिए ।
प्राधिकरणले यसअघि कम्पनीलाई जेठ मसान्तको अन्तिम समयसीमा रहेको भन्दै बक्यौता तिर्न भनेकोमा सोविरुद्ध सुमार्गीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले उनको पक्षमा आदेश जारी गर्न अस्वीकार गरेपछि प्राधिकरणले खारेजी प्रक्रिया अघि बढाएको थियो । मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट सेवा सुरु गरेको कम्पनीले काठमाडौंका लागि पनि अनुमति पाएको थियो । प्राधिकरणले बक्यौता नतिर्ने वेभ सर्फर र आइटेल कम्युनिकेसनको पनि लाइसेन्स खारेज गरेको छ । स्मार्टसेलले भने बक्यौता भुक्तानी गरेको प्राधिकरणले जनाएको छ ।



















