काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपेली आकाशमा नेपाली हवाई सेवामाथि लगाएको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । नेपालको हवाई क्षेत्रमा धेरै सुधारका काम भएको जिकिर गर्दै उनले त्यसले असुरक्षा हटेको पनि बताएका छन् ।
सोमबार राजधानीमा सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका हवाई महानिर्देशकहरूको सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विगतमा जस्तो हवाई सुरक्षामा नेपालको कमजोरी अहिले नरहेको बताए ।
विभिन्न ४३ देशका ४ सयभन्दा बढी प्रतिनिधि सहभागी सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टको रूपमा विकास गर्न लागिएको समेत बताए । उनले नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउँदै २० लाखभन्दा बढी पर्यटक भिלयाउने लक्ष्य राखेको बताए ।
सुखी नेपाली र समृद्ध नेपालको नाराअनुसार लक्ष्य हासिल गर्न पर्यटनलाई प्रमुख अंगको रूपमा लिएको स्पष्ट पर्दै उनले विश्वमा प्रवेश गर्न कनेक्टिभिटीको ठूलो महŒव रहेको बताए ।
‘गैंडाज आर गैंडाज, नट राइनोज’
सम्मेलनमा प्रधानमन्त्री ओलीले एकसिंगे गैंडालाई ‘राइनो’ भनेकोमा आपत्तिसमेत जनाए । ओलीले नेपालमा मात्र पाइने एकसिंगे गैंडालाई ‘राइनो’ नभन्न आग्रह गर्दै भने, ‘गैंडाज आर गैंडाज, नट राइनोज ।’
प्रधानमन्त्री ओलीले सगरमाथालाई सगरमाथा नै उच्चारण गर्न आग्रह गरेका छन् । ‘नेपाल सुन्दर मात्र होइन,’ उनले भने, ‘प्राकृतिक स्रोतले पनि भरिपूर्ण देश हो ।’ प्राकृतिक स्रोतको उपयोग गरेर नेपालको विकासलाई तीव्र गतिमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक संघर्षको युग सकिएर आर्थिक उन्नति र विकासको युग सुरु भएको उनले बताए । ‘अब हामी हाम्रो यात्रा आर्थिक उन्नति र विकासबाट सुरु गर्छौं,’ उनले भने, ‘यसका लागि अन्तर्राष्ट्रिय जगतसँग पनि सहकार्य गर्छौं ।’ उनले यसका लागि कतिपय अमिल्दा कानुनहरू संशोधन गर्ने गृहकार्य भइरहेको जानकारीसमेत दिए ।



















