जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीकै नेतृत्वमा पाँच वर्ष सरकार चल्ने भए पनि सरकारको नेतृत्व भने फेरिन सक्ने संकेत गरेका छन् । उनले पार्टी एकताका क्रममा भएका सम्झौताअनुसार नेतृत्व परिवर्तन हुनसक्ने संकेत गरेका छन् ।
जनयुद्वका बेला मारिएका तत्कालीन माओवादीका वरिष्ठ नेता शहीद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन सोमबार जनकपुर आएका दाहालले जनकपुरस्थित विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पाँच वर्ष पार्टीकै सरकार रहने भए पनि नेतृत्व भने पार्टीको निर्णय, सम्झौता र परिस्थितिअनुसार हुनसक्ने बताए ।
पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारको पहिलो वर्ष सुखद रहन नसकेको स्वीकार गर्दै उनले कम्युनिस्ट नेतृत्वको सरकारलाई असफल हुने छुट नरहेको बताए । उनले पार्टी एकता र विकल्पको बारेमा आफूले बोलेको कुरालाई सञ्चारजगतले अपव्याख्या गरेको बताए । पार्टी एकता गरिसकेपछि अब कुनै विकल्प नरहेकाले अन्य केही पनि सोच्न नहुने आफ्नो दृढ मान्यता रहेको उनको भनाइ थियो ।
दाहालसँगै आएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नेताको वरीयताप्रति आफू असन्तुष्ट रहेको संकेत गरे । तत्कालीन समयमा झलनाथ खनाल र अहिले आएर आफूसँग अन्याय भएको जिकिर गर्दै उनले पार्टी एकतापछि अवस्था फरक भएको बताए । पार्टीमा चौथो वरीयतामा झारिएपछि वरिष्ठ नेता नेपाल असन्तुष्ट बनेका हुन् । नेता नेपालले ऐतिहासिक रूपमा सरकारको नेतृत्व गर्ने अवसर पाइएको भन्दै यसलाई सदुपयोग गर्नुपर्ने काममा सरकार सफल हुन नसकेको बताए ।
तराई मधेसमा प्याकेज
यसैबीच, नेकपा अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा आर्थिक विकास र समृद्धिको प्याकेज ल्याइने बताएका छन् । शहीद रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र आफूले चाँडै नै तराई मधेसका लागि त्यस्तो प्याकेज ल्याउने जानकारी दिए ।
तराई मधेसको विकास पहाडसँग पनि जोडिएको चर्चा गर्दै उनले बाढीबाट हुने क्षति न्यूनीकरण, जलाधार संरक्षण, आगलागी, डुबानको समस्या हटाउन ‘मास्टर प्लान’ आवश्यक रहेको बताए । ‘यी सबै समस्याको दीर्घकालीन समाधान हुनुपर्छ,’ उनले भने, ‘चुरेको संरक्षणको मास्टर प्लान नगरेसम्म तराईलाई जोगाउन सकिन्न ।’ उनले जनता आवास, जनताको तटबन्ध, रेलमार्ग, हुलाकी मार्ग, फास्ट ट्र्याक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल लगायतको परियोजनाले तराई मधेसको विकासमा फड्को मार्ने दाबीसमेत गरे ।



















