काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । संक्रमणकालीन न्यायसम्बन्धी बाँकी विषय टुंग्याउन ओलीले मंगलबार साँझ ५ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूका छानविनसम्बन्धी आयोगका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले यसअघि संसद् बैठकमा ती दुई आयोगले यसै हप्ता पूर्णता पाउने उद्घोष गरेका थिए । सम्बोधनका क्रममा ओलीले ‘सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानविनसम्बन्धी आयोग गठनका लागि प्रमुख आयुक्त, आयुक्तहरूको सिफारिस गर्न समिति निर्माण गरेका छौं । सिफारिस समिति हाल क्रियाशील छ । र, मैले विश्वास लिएको छु, यसै हप्ताभित्र दुवै आयोग गठन हुनेछ’, भनेका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार ओलीले दुई आयोगमा नाम सिफारिस गर्न बनाइएको समितिलाई सहयोग गर्न बैठक बोलाइएको बताए । उनका अनुसार मंगलबार सर्वदलीय बैठकपछि बुधबार पुनः पाँच बजे दुई दलीय बैठकसमेत बस्दै छ । सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच बुधबार यस विषयमा थप छलफल हुने बताइएको छ ।
गत माघ २६ मा आयोगका तत्कालीन आयुक्त र प्रमुख आयुक्तको म्याद सकिएपछि द्वन्द्वकालीन दुई आयोग रिक्त छन् । ती आयोगमा पदाधिकारी नियुक्तिका लागि सरकारले १५ चैतमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति बनाएको थियो । सिफारिस समिति बनाएको ५ महिनासम्म पनि अहिलेसम्म नाम सिफारिस हुन सकेको छैन । दुई आयोगका लागि ५७ जनाले आवेदन दिएका छन् ।



















