नेपाल–भारत संयुक्त आयोगको बैठक पर्सि, पाँच एजेण्डा तय

काठमाडौं । परराष्ट्र मन्त्रालयले बुधबार काठमाडौंमा सुरु हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकका एजेण्डाहरू तय गरेको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार पत्रकार सम्मेलन गरी दुवै देशका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने आयोगको बैठकमा नेपालका तर्फबाट तय गरिएका एजेण्डाहरू सार्वजनिक गरेका हुन् । 

मन्त्री ज्ञवालीकाअनुसार बैठकमा मुख्यगरी पाँचवटा एजेण्डामा छलफल हुनेछ । राजनीति, सुरक्षा र सीमा, कनेक्टिभिटी, ऊर्जा र जलस्रोत र संस्कृति तथा शिक्षाका एजेण्डा निर्धारण गरिएको मन्त्री ज्ञवालीले जानकारी दिए । उनले बैठकमा दुई पक्षीय मामिलाका सबैजसो विषयमा छलफल हुने बताए । आर्थिक साझेदारी, व्यापार, पारवहन र अन्य दुई पक्षीय हितका विषयमा पनि बैठकमा छलफल हुने ज्ञवालीको भनाइ छ । भारतले नेपालमा लगानी गर्ने भनेर गरेका प्रतिबद्धताबारे पनि कुरा उठाउने नेपाली पक्षले जानकारी दिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघिका नेपाल भ्रमणमा गरेका प्रतिबद्धता पूरा नभएको नेपाली पक्षको भनाइ छ । बैठकमा विभिन्न आयोजना र सहयोगको कार्यन्वयनको मूल्यांकन गर्ने पनि मन्त्री ज्ञवालीले जानकारी दिए । 

उनले बैठकमा नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) ले तयार पारेको प्रतिवेदनका बारेमा पनि कुरा उठाउने बताए । उनले भारतीय पक्षलाई छिटो प्रतिवेदन बुझेर कार्यान्वयनमा लैजान आग्रह गर्ने बताए । ‘इपिजीको विषयमा छलफल हुन्छ,’ मन्त्री ज्ञवालीले भने, ‘तयार भएको प्रतिवेदन दुवै प्रधानमन्त्रीले बुझेर कार्यान्वयनमा लैजानुपर्छ भन्ने कुरा बैठकमा उठाउनेछौं ।’ 

बाढीका कारण नेपाल र भारत दुवैतिरका नागरिक समस्यामा परेकोले आयोगको बैठकमा यो विषयले पनि प्रवेश पाउने मन्त्री ज्ञवालीले बताए । दुई देशबीच सहमति भए पनि वर्षौंदेखि कार्यान्वयन हुन नसकेका विषयको समीक्षा गर्दै तत्काल कार्यान्वयन गर्न सकिने र प्रतिफल दिनेमा केन्द्रित हुनेबारे पनि बैठकमा कुरा उठाउने नेपाली टोलीको तयारी छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले दुई देशबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनः ब्यूँताउनेबारे छलफल हुने पनि बताए । सार्कलाई पुनः सक्रिय बनाउनेबारे नेपालले अध्यक्ष राष्ट्रका हैसियतले प्रस्ताव राख्ने उनको भनाइ थियो । 

‘सार्कको विषय द्विपक्षीयभन्दा पनि सार्कका सबै सदस्य राष्ट्रहरूको साझा चासोको विषय हो,’ उनले भने, ‘संयुक्त राष्ट्रसंघको आगामी ७४ औं महासभाको बैठकमा पनि सार्क राष्ट्रका परराष्ट्र मन्त्रीहरूको साइड लाइन वार्ता गराउने तयारीमा छौं ।’ 

भारतका विदेशमन्त्री सुब्रमण्यम जयशंकर संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार काठमाडौं आइपुग्ने मन्त्री ज्ञवालीले जानकारी दिए । दुई दिनसम्म चल्ने बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्री ज्ञवालीले नेतृत्वको गर्नेछन् । भारतको प्रतिनिधित्व भारतीय विदेशमन्त्री जयशंकरले गर्नेछन् । 

बैठकमा सहभागी हुन परराष्ट्र सचिव, भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्य, गृह, रक्षा, ऊर्जा, जलस्रोत, सिँचाइ, उद्योग मन्त्रालय लगायतका प्रतिनिधिसहित ३५ सदस्यीय प्रतिनिधिमण्डलको नाम स्वीकृत भएको छ । 

सन् १९८७ मा स्थापना भएको आयोगको चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा भएको थियो । बैठकमा सहभागी हुन नेपाल आउन लागेका भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको मन्त्री ज्ञवालीले जानकारी दिए । उनले भारतीय समकक्षी जयशंकरको सम्मानमा रात्रिभोज आयोजना गर्ने जनाइएको छ ।