काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले साउनभित्रमा पार्टी एकताका सम्पूर्ण काम टुंगोमा पुग्ने बताएका छन् । छिट्टै केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक बस्ने विश्वास दिलाउँदै उनले त्यसपछि पार्टीका सबै तह जनतामा जाने बताए ।
४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले एकताको काम टुंगोमा पुग्न १÷२ औपचारिक दिनहरू मात्रै बाँकी रहेको बताए । उनले भने, ‘केही दिनभित्र हामी पार्टी एकता टुंग्याउछौं । हाम्रो लक्ष्य यही साउन महिनाभित्र पार्टी एकताका बाँकी रहेका काम टुंगो लगाउने हो ।’
उनले केन्द्रीय कमिटी बैठकबाट देशव्यापी रूपमा कार्यक्रम बनाएर जनतासमक्ष समेत जाने बताए । पुष्पलालले देखेको सपनाअनुसार नै आफूहरूले पार्टी एकता गर्दै जनवादी क्रान्ति मौलिक ढंगले पूरा गरेको उनको भनाइ थियो ।
‘विभाजन भएको पार्टीलाई फेरि एकताबद्ध र आन्दोलित गर्ने, दीर्घकालीन सशस्त्र संघर्षमार्फत जनवादी क्रान्ति रणनीति अगाडि बढाउने अनि पञ्चायतका शक्तिसँग मिलेर जाने पहलको नेतृत्व पनि पुष्पलालले नै गर्नुभएको हो । त्यसैले हामी सबै पुष्पलालकै सन्तति र उत्तराधिकारी हौं,’ उनले भने ।
दाहालले पार्टीभित्र देखिएका कमी, कमजोरीहरूलाई सच्याएर अगाडि बढ्ने बताए । राजनीतिक प्रयोगका ठूलाठूला घटनाहरू छिचोल्दै यहाँसम्म आइपुगेको भन्दै उनले नेताहरूबीच आलोचना, विरोध र निषेध भएका कुरा मात्रै बाहिर चर्चामा आएका तर पार्टीलाई यो अवस्थासम्म ल्याउन भएका संवाद र छलफलका कुरा धेरैलाई थाहा नभएको बताए । साधारण परिघटनाबाट आफूहरू यहाँसम्म आएका नआएको बरु पार्टी एकता हुनै सक्दैन भन्नेलाई आफूहरू एक भएर देखाएको उनले बताए ।
‘संविधान आउँदैन भन्थे, बनायौं । गणतन्त्र आउँदैन भनेको, ल्यायौं,’ उनले भने । प्रतिक्रियावादीहरूले पार्टी एकता हुन नदिन आफूलाई प्रधानमन्त्रीको समेत अफर गरेको तर त्यसलाई सफल हुन नदिएको उनको भनाइ थियो । उनले अब पार्टीलाई सुदृढ हुन नदिने षड्यन्त्रलाई पनि परास्त गरेर अघि बढ्न जरुरी रहेको बताए ।



















