थलारा गाउँपालिका वडा नम्बर ६ गुमै घर भएका महावीर सार्की उमेरले ७६ वर्ष पुगे । उनी आँखा राम्रोसँग देख्छन्, कान राम्रोसँग सुन्छन् तर दमका कारण धेरै हिँड्डुल गर्न भने सक्दैनन् । लौरो टेकेर यता उति जाने गर्छन् । जिन्दगीमा धेरै दुःख भोगेका माहावीरको खरले छाएको घरको छानो वैशाख १८ गते राति आएको हावाहुरीले उडाएपछि सहयोगका लागि थलारा गाउँपालिकामा निवेदन दिन आएका महावीरसँग गाउँपालिकामा भेटभएपछि उनीसँग कुरा गरियो । शिरमा ढाका टोपी, सेतो सर्ट र इस्टकोट लगाएका र हातमा लठ्ठी समातेका महावीर निकै चिन्तित देखिन्थे । बाबुको पालादेखि नै धेरै दुःख पाउनु परेको उनको दुखेसो थियो ।
एक त दलित त्यसमा पनि त्यतिखेर सधैँ भोकै बस्नुपथ्र्याे घरमा खान लाउनसमेत समस्या थियो । विद्यालयमा पढ्ने कुरा त सपना जस्तै थिए । भोपुरमा विद्यालय छ त्यहाँ पढाइ हुन्छ भन्ने कुरा धेरैपछि थाहा भयो । त्यो जमनामा कटाउसो (झाडापखाला) परेको खण्डमा पानी खान दिनु हुँदैन, खान दिए मान्छे मर्छ भन्थे । त्यस्तो समयमा जन्मेका मान्छे पढ्ने लेख्ने कुरै थिएन । तर, केही वर्षपछि थलारी राजारागम नारायणसँग महावीरले काम गर्ने मौका पाए ।
त्यतिखेर उनी कलिलोे उमेरका थिए तर कति वर्षको थिए भन्ने उनलाई नै थाहा छैन । अहिले बुढेसकालले छोयो, त्यतिखेरको उमेर हट्टाकट्टा र तन्दुरुस्त थियो । त्यसलाई उनी अहिले पनि सम्झन्छन् । उनले भने तर राजासँग भने बढीजसो घोडाको काठी मिलाउने राजाको सवार घोडा डो¥याएर लिने र काठी बिग्रेको खण्डका बनाउने काम गर्नुपथ्र्याे । त्यतिखेर राजाको प्यारो बनेका महावीरलाई चाकरी गरेवापत राजाले अलिकति खेत दिए । राजालाई उनी अहिले पनि सम्झन्छन् । निकै दयालु थिए रे राजा । उनीसँग डोटी गएका बेला राजाका घरसम्म पनि उनी गएका थिए ।
पछि राजा थलाराको खोली बजारमै मरे । त्यसपछि केही वर्ष घरपरिवार पाल्न महावीर भारतको पञ्जाव र बेङ्लोरसमेत गए तर सबै ठाउँमा दुःख पाए । भारत जाँदा बाटामा दुःख पाइन्थ्यो । अहिलेको जस्तो बाटोघाटो यातायात केही थिएन । भारत जानमात्र होइन त्यतिबेला नेपालकै चैनपुर जानसमेत समस्या हुन्थ्यो । थलाराबाट चैनपुर जाने बेला बयालाको पणमा परेर कति मान्छे मर्थे । मालुुमेला र पानकोटमा घाट तर्नु पथ्र्यो । त्यो समयमा नून, चामलको सारै समस्या थियो । भेडा बाख्राबाट ल्याएको सामान साट्नुपथ्र्यो । दुई पाथी चामलले एक पाथी नून साटेको सम्झाना उनी अहिले पनि गर्छन् ।
एक हिउँदमा साटेको नून अर्को हिउँदसम्म पुग्थ्यो, त्यही पनि गाई, भैंसीलाई दिएर सकिन्थ्यो यो कुरा सम्झँदा उनलाई अहिले अच्चम लाग्छ । ४० पाकेट नून ल्यायो भने ६ महिना पुग्दैन उतिखेर ढिके नून धेरै फारु हुन्थ्यो तर अहिलेको जस्तो दालभातसँग तरकारी अचार हुँदैन थियो । त्यतिखेर दालभातमात्रै खाइन्थ्यो । त्यसैले नून फारु हुुन्थ्यो होला । जिन्दगीमा धेरै काम गरियो उनी भन्छन् । महावीरले भने २० वर्षजति त थलाराका अम्मराज पाण्डेको हलो पनि जोते उनले तर हलियाको नाममा धेरैले घर बनाए, पैसा पाए उनले कतैबाट पनि केही सहयोग पाएनन् ।
हलियामा नाम लेखाउन २ चोटि चैनपुरसम्म पुगे । अम्मराज मालिकले समेत मेरो हली हो नाम राखिदिनुहोला भन्दा समेत राखेनन् भन्छन् उनी । त्यतिखेर वर्षभरि हलो जोतेर १÷२ कोल्था धान पाइन्थ्यो । बेलुका काम गरेबापत खान मानु पाइन्थ्यो । त्यही पनि भारी बोक्ने, दाउरा काट्ने काम गर्नुपथ्र्यो । त्यतिखेरका मान्छे बोली चालीमा भने ठीक थिए । नभएको बेला सापटी चलाउँथे तर पैसाको धेरै समस्या हुन्थ्यो । पोता तिर्नु पथ्र्यो । धेरै तिर्नेले १ रुपैयाँ तिर्थे । कसैसँग बाली तिर्नका लागिसमेत पैसा हुँदैनथ्यो ।
एक दिन दाउरा ल्याए तथा भारी बोकेबाफत बाली कट्टी हुन्थ्यो । अहिले दलित भन्छन् त्यतिखेर तल्जाति भन्थे त्यतिखेर तल्जातिको जग्गा जमिन नहुनुका कारण अर्को पनि थियो । जुन पाखो जग्गा खनजोत गरेर ठिक्क पा¥यो त्यही मेरो जग्गा हो भनेर ठूलाबडा आफ्नो नाममा बनाउथे । पहिलाको भन्दा अहिले सुख छ भन्छन् उनी । पुरानो जमानामा धेरै बोल्न पाइँदैनथ्यो । बोलेको खण्डमा त्यो तल्जनति बढ्ता भएको छ ठीक गर भन्थे ।
पञ्चायती व्यवस्था र अहिलेको व्यवस्था भोगेका महावीर त्यतिखेर दीपकबहादुर सिंह पिखेतका, गिरी, रोकाया, नरु रोकायालाई समेत भोट हालेका बताउँछन् । त्यतिखेर खासै विकास भने भएन अहिले पहिलेभन्दा धेरै विकास भइसक्यो भन्ने उनको अनुभव छ ।
कुनै एक समयमा गाउँमा ६० वर्ष पुगेपछि कम्युनिष्टहरूले बूढाबूढीलाई गोली हानी मार्छन् भन्ने हल्ला आयो । त्यतिखेर उनलाई पनि हो कि त भनेर डर लाग्यो तर अहिले महावीर सरकारबाट भत्ता पाउँदा निकै खुशी छन् । उनकी श्रीमतले पनि वृद्धभत्ता पाएकी छन् । बूढाबूढीको त्यही भत्ताले दाल, चामल, नून, तेल र घरखर्च चलेको छ ।
भत्ता आउनुभन्दा अगाडि गाउँका कसैसँग कर्जा काडेरसमेत खाने गरेको उनी बताउँछन् । उनी भत्ता आएपछि पहिले लिएको कर्जा तिर्ने गर्छन् । पहिला त ऋण लिनसमेत कसैसँग पैसा हुँदैनथ्यो तर अहिले सरकारले गरिब, एकल महिला, बूढापाकालाई भत्ता दिएर सानोतिनो भए पनि सहयोग गरेको छ ।
खोलीमा अहिलेका जति वादीहरू थिएनन् । तीन÷चार परिवारमात्र थिए । माघे संक्रान्तिका दिन कोटमा रमिता हुन्थ्यो । नाचगान गरिसकेपछि राजाले वादीहरूलाई आरू, मकै, भुजा, काँक्रा र रक्ससमेत दिन्थे । अहिले त नाचगानसमेत हराइसक्यो । उनी बाल्यकालको सम्झना गर्छन् र भन्छन् ‘अहिले त बूढो भइयो । त्यतिबेला ठूलाठूला मान्छेसँग उठबस भयो ।
अहिलेत घर छोडेर कहिँ जान सकिँदैन । आज गाउँपालिका आउनाले भेट भयो । आजभोलिका छोराछोरी मुखै बोल्न छोडिसके आफ्नै दावलका सँगका भेट भयो भनेमात्रै बोल्चाल हुन्छ । विकास त भयो तर के गर्नु पैसाले गर्दा मान्छेले मान्छेलाई चिन्न छोडिसक्यो । माया सद्भाव साहनुभूति छैन । हामी त पुराना जमनाका मान्छे, हाम्रो रीतिरिवाज, धर्म, संस्कृति हराइसक्यो । यसको बचाउ र खोजी कसले गर्ने ?’ उनी प्रश्न तेस्र्याउँछन् ।




















