काठमाडौं । निर्माण हुने नयाँ चलचित्र ‘फटाह फणिन्दे्र’मा नायिका सुष्मा कार्की मुख्य भूमिकामा देखिने भएकी छन् । निर्माता अरुण खड्काले अरुण फिल्म प्रोडक्सन प्रालिको तेस्रो प्रस्तुतिका रूपमा यो चलचित्रनिर्माण गर्न लागेका हुन् । चलचित्रको निर्देशनसमेत उनी आफैंले गर्दैछन् ।
यस चलचित्रका लागि नायिका सुष्माले १० लाख पारिश्रमिक लिएको बताइएको छ । चलेका र केही नयाँ कलाकारसमेतको अभिनय रहने चलचित्रको अन्य कलाकार छिट्टै टुंगो लाग्ने अरुणले जानकारी दिए । ‘तिम्रो लागि’, ‘पाठशाला’लगायत केही चलचित्र निर्माण गरेका अरुण यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
चलचित्र निर्माणको सिलसिलामा आफूले यो क्षेत्रमा विताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्दे्र’मा खन्याउन लागेको खड्काले बताए । ‘केही दिन अरूको फिल्म सुटिङ हेरेर धेरै निर्देशक भएका छन्’, खड्काले भने, ‘म त यो क्षेत्रमा एक दशकदेखि छु ।’ बनिरहेको भन्दा फरक र सबैले मन पराउने फिल्म आफूले बनाउने उनले खुलाए ।
उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा सम्वाद रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायांकन रहनेछ । नेत्र विष्ट कार्यकारी निर्माता रहेको चलचित्र कमेडी जनरा निर्माण हुन लागेको हो । चलचित्रको छायांकन आगामी कात्तिकबाट सुरु हुनेछ ।




















