राजपा महाधिवेशन अन्योलमा

काठमाडौं । आगामी कात्तिक अन्तिम साताका लागि तोकिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन सर्ने संकेत देखिएको छ । विपद्को बहानामा महाधिवेशन सार्ने चलखेल सुरु हुन लागेको भन्दै राजपाकै नेताहरूले असन्तुष्टि जनाउन थालेका छन् ।  

गत वैशाखमा बसेको राजपा पदाधिकारी बैठकले कात्तिक २८ देखि ३० सम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । पटकपटक मिति सर्दैै आएको राजपाको महाधिवेशन यसपटक पनि सर्ने निश्चित जस्तै बनेको हो ।

‘अहिले विपद्को समय छ । हामीहरू विपद्मा छौं,’ राजपाका नेता महेन्द्र राय यादवले भने, ‘महाधिवेशनका विषयमा अहिले केही सोचेका छैनौं । विपदको समय छ । सबै साथीहरू यतैतिर व्यस्त हुनुहुन्छ ।’ महाधिवेशनको तयारीका बारेमा उनले केही बताउन चाहेनन् । अहिलेसम्म के के तयारी पूरा भयो भन्ने प्रश्नमा उनले भने, ‘अहिले यति नै बोलौं ।’

राजपाकै एक नेताले पार्टी नेतृत्व नै महाधिवेशनको विपक्षमा रहेको आरोप लगाए । ‘साथीहरू जे छ यस्तै ठिक छ भन्नेमा ढुक्क छन् । पटकपटक बहाना गर्दै महाधिवेशन सार्दै आएका थिए । योपटक झन् राष्ट्रिय विपद्को बहाना भयो । के चाहियो ?’ उनले भने, ‘अब यसैलाई बहाना बनाएर तयारी पुगेन भन्दै महाधिवेशन सार्न सजिलो भएको छ ।’

राजपामा अहिले चक्रीय प्रणालीअनुसार पार्टीको नेतृत्व गर्ने परम्परा लागू गरिएको छ । अध्यक्षमण्डलमा रहेका ६ नेताबीच दुई–दुई महिनामा पालैपालो पार्टी नेतृत्व गर्ने अभ्यास भइरहेको छ । केही नेताहरू यसको विरोधमा छन् भने केहीले महाधिवेशन नहुन्जेलसम्म यही प्रणालीलाई निरन्तरता दिनुपर्ने बताउँदै आएका छन् । 

महन्थ ठाकुरको संयोजकत्वमा महाधिवेशन मूलआयोजक समिति गठन भएर पनि हाल उक्त समिति निष्क्रियजस्तै बनेको छ । केन्द्रीय कार्यसमितिका सबै सदस्यहरू रहनेगरी महाधिवेशन आयोजक समिति गठन गरिएको थियो । 

पार्टीका सहअध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णको संयोजकत्वमा विधान मस्यौदा समितिसमेत गठन भइसकेको छ । महाधिवेशनपछि पार्टीलाई सामूहिक नेतृत्वमै लैजाने या एकल नेतृत्वमा जाने भन्नेमा समेत विवाद देखिएको छ । केही नेता सामूहिक नेतृत्वमै जानुपर्ने पक्षमा छन् भने केहीले एकल नेतृत्वका लागि जोड गरिरहेका छन् । एकता महाधिवेशनमा नेतृत्वसम्बन्धी विवाद अझ बढ्ने भएकाले पनि अध्यक्षमण्डलमा रहेका केही नेताहरू तत्काल त्यस्तो विवादमा फस्न नहुने भन्दै महाधिवेशन पर सार्न प्रयासरत देखिएका छन् ।