एजेन्सी := लन्डन स्टक एक्सचेन्ज ग्रुप (LSEG) र इस्लामिक कर्पोरेसन फर द डेभलपमेन्ट अफ द प्राइभेट सेक्टर (ICD) द्वारा संयुक्त रूपमा जारी गरिएको २०२६ को ‘इस्लामिक फाइनान्स डेभलपमेन्ट इन्डिकेटर’ (IFDI) रिपोर्ट अनुसार मलेसिया विश्वकै अग्रणी इस्लामिक वित्तीय बजार बन्न सफल भएको छ।
कुल १४० देशहरूको मूल्याङ्कन गरिएको यस सूचीमा मलेसिया १३६ को उत्कृष्ट स्कोरसहित लगातार १४औँ वर्ष पहिलो स्थानमा रहन सफल भएको हो। यस सूचीमा ११३ स्कोरसहित साउदी अरब दोस्रो र ९५ स्कोरसहित संयुक्त अरब इमिरेट्स (यूएई) तेस्रो स्थानमा छन् भने इन्डोनेसिया र पाकिस्तान क्रमशः चौथो र पाँचौँ स्थानमा रहेका छन्।
रिपोर्ट अनुसार मलेसिया विशेषगरी वित्तीय चेतना, संस्थागत सुशासन, दिगोपन र ज्ञान विकासको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा टिकिरहेको हो। हाल मलेसिया ८६२ अर्ब अमेरिकी डलर बराबरको कुल सम्पत्तिसहित इरान र साउदी अरब पछि विश्वकै तेस्रो ठूलो इस्लामिक फाइनान्स बजार बनेको छ ।
साथै इस्लामिक ऋणपत्र (सुकुक) बजारमा यसको वर्चस्व कायमै छ। समग्र विश्वमा इस्लामिक बैंकिङ र लगानी कोषहरूको तीव्र वृद्धिका कारण वैश्विक इस्लामिक फाइनान्स बजार ९ प्रतिशतले बढेर ६.५ ट्रिलियन अमेरिकी डलर पुगेको रिपोर्टमा उल्लेख छ।




















