घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । बाढी पहिरोमा परी घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले बाढी– पहिरोमा परेर घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारहरूले पीडित परिवारलाई राहत तथा घाइतेका लागि स्वास्थ्योपचारमा सहयोग गर्ने निर्णय यसअघि नै गरिसकेका छन् । प्रदेश १, प्रदेश २ र प्रदेश ३ सरकारले बाढीपहिरो तथा डुबानमा परी मृत्यु भएकाको परिवारलाई राहत तथा घाइते भएकाहरूका लागि स्वास्थ्योपचारमा सहयोग गर्नेसहितका निर्णय गरिसकेपछि संघीय सरकारले स्वास्थ्योपचारको व्यवस्था गर्ने निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घाइतेहरूको उपचारको सम्पूर्ण व्यवस्था सरकारले मिलाउने निर्णय गरेको जानकारी दिए । घाइते भई अपांग तथा अशक्त हुनेहरू र मृतकका परिवारका सदस्यहरूलाई सरकारले यथोचित व्यवस्था गर्ने निर्णय गरेको उनले बताए । 

सरकारले बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा गएर राहत तथा उद्धारका कार्यमा तदारुकताका साथ लाग्न र आवश्यक जनशक्ति परिचालन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ ।

सरकारले प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलिन नदिन औषधि उपकरणसहित थप स्वास्थ्यकर्मीको टोली तुरुन्त परिचालन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत्, खोनपानी, सञ्चार लगायतका अत्यावश्यक सेवाहरू सुचारु गर्न र थप क्षति हुन नदिन सम्बन्धित निकायहरूलाई पूर्ण सतर्कता अपनाउन तथा आवश्यक कदम चाल्न पनि सरकारले निर्देशन दिएको छ ।

बैठकले रक्षा, गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयहरूले समन्वय गरी यातायात आवागमनलाई सुचारु गर्न आवश्यक र सम्भव भएसम्मका कदम चाल्ने निर्णयसमेत गरेको छ । उद्धार र राहत लगायतका कार्यका लागि आवश्यक सहयोग गर्न सरकारले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरेको छ । 

सरकारी निकाय, निजी क्षेत्र, सामाजिक क्षेत्र तथा गैरसरकारी संघ संस्थाहरूलाई समन्वयात्मक रूपमा परिचालन गरी विपद् प्रभावितहरूको उद्धार, राहत, उपचार एवं खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन सरकारले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

गृह मन्त्रालयको समन्वयमा विपद्बाट भएको क्षतिको विवरण यथाशीघ्र तयार गर्ने, मूल्यांकन गर्ने तथ्य र विवरणसहितको यथार्थ परिस्थिति स्पष्ट भइसकेपछि पुनस्र्थापना तथा पुनर्निर्माण लगायतका आवश्यक विषयका सम्बन्धमा आवश्यक कदम चाल्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । 

सरकारले राहत उपलब्ध गराउने, अस्पताल तथा स्वास्थ्य संस्थामा पु¥याउन सहयोग गर्ने, सुरक्षा दिने, समाचार सम्प्रेषण गर्ने सबैलाई धन्यवादसमेत दिएको छ ।