काठमाडौं । भक्तपुरको चाँगुनारायणमा भएको महिला हत्याको घटनामा छोरीकै संलग्नता रहेको रहस्योद्घाटन भएको छ । प्रहरीले हत्या घटनामा संलग्नलाई धादिङ र मकवानपुरबाट पक्राउ गरेपछि आमाको हत्यामा छोरीकै संलग्नताको रहस्योद्घाटन भएको हो ।
आइतबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ स्थायी घर भएकी ६१ वर्षीया सावित्री भट्टराईको चाँगुनारायणमा घाँटी रेटी हत्या भएको थियो । प्रहरीले हत्यामा संलग्न मृतक सावित्रीकी २७ वर्षीया छोरी ईश्वरी भट्टराई, सिरहाको कल्याणपुर नगरपालिका–४ घर भएका मोहम्मद नौसाद, भारतीय नागरिकहरू अर्जुनकुमार भन्ने भोलाकुमार र मोहम्मद रहिसलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
अभियुक्त सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रहरीले हत्यामा प्रयोग भएको चक्कु, अभियुक्तहरूका रगतले लत्पतिएका लुगा पनि सार्वजनिक गरेको थियो ।
प्रहरीले मृतककी छोरी ईश्वरी र सिरहाको कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसादबीच प्रेम सम्बन्ध रहेको बताएको छ । प्रेम सम्बन्धमा रहेको जानकारी आमाले थाहा पाएपछि ईश्वरीले प्रेमी नौसादसँग मिलेर हत्या योजना बनाएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनले आमाको हत्याका लागि १२ लाख रुपैयाँ सुपारीसमेत दिने बाचा नौसादसँग गरेकी थिइन् ।
‘नौसाद यसअघि पनि त्यस घरमा गइरहन्थे । सावित्रीसँग नौसादले डेढ लाख रुपैयाँ ऋण लिएर विदेश (दुबई) समेत गएका थिए । घरमा रेकी गर्न गएका नौसाद र सावित्रीबीच पैसाकै विषयमा सामान्य भनाभन पनि भएको थियो । त्यही विषयमा सावित्रीले कुचोले नौसादलाई पिटेको देखिन्छ,’ महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले सम्मेलनमा भने, ‘त्यसपछि उनी (सावित्री) नाति दिप्सनलाई स्कुल पु¥याउन बाटो लागिन् । उनीहरू पनि घरबाट बाहिरिए । नातिलाई स्कुल पु¥याएर करिब आधा घण्टाबीचमा सावित्री घर फर्किइन् । त्यसको केही समयमै तीन युवा पुनः सावित्रीको घरमा प्रवेश गरे । एउटाले हात समाते, अर्काले मुख थुने र अर्का एकले सावित्रीको घाँटी रेटेर हत्या गरेको पाइयो ।’
प्रहरीलाई हत्यारा पत्ता लगाउन सावित्रीका चार वर्षीय नाति दिप्सनले सहज बनाएको देखिन्छ । ‘नौसाद पहिला पनि पटकपटक आफ्नो घरमा आउने गरेकाले दिप्सनले सहजै चिन्ने गरेका रहेछन्,’ अपराध महाशाखाका डिएसपी रवीन कार्कीले भने, ‘दिप्सनले नौसाद आएको भनेर नाम लिएपछि अनुसन्धानमा थप सहज भयो ।’
सावित्रीको हत्याको मुख्य कारण यौन सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका नौसाद र ईश्वरीबीच एक वर्षदेखि चिनजान थियो । प्रहरीका अनुसार एक वर्षदेखि नै उनीहरूबीच यौन सम्पर्कसमेत हुँदै आएको दुवैले स्वीकार गरिसकेका छन् ।
यौन सम्पर्कसम्म भइसकेपछि ईश्वरी र नौसाद दुवैले एक–अर्कालाई छाड्न सकेका थिएनन् । त्यसका लागि बाधक बनेकी सावित्रीलाई हत्या गर्ने योजनाअनुसार ईश्वरीले नौसादलाई डेढ महिनाअघि दुबई पठाएको एसएसपी थापाले बताए ।
‘नौसाद जाने बेला नै ईश्वरीले एउटा सिमकार्ड दिएकी थिइन् । डेढ महिनामा काठमाडौं फर्किसकेपछि यही सिम प्रयोग गर्नु, तर मलाई फोन नगर्नु, घर खाली गराउने व्यवस्था म गर्छु । त्यही मौकामा हत्या गरेर भाग्नू’ सावित्रीले नौसादलाई भनेका कुरा उद्धृत गर्दै उनले जानकारी दिए । प्रहरीका अनुसार नौसाद प्रेमिका ईश्वरीको योजनालाई पूर्णता दिन डेढ महिना दुबई बसेर नेपाल फर्किएका थिए ।
आमा सावित्रीको हत्या गरेपछि श्रीमान् सोनामलाई पनि जापान पठाउने र आफूहरू आनन्दले काठमाडौंमा बस्ने योजना उनीहरूको रहेको प्रहरीले जनाएको छ । प्रहरीले नौसादलाई धादिङको गजुरीबाट पक्राउ गरिएको बताएको छ ।
प्रहरीले नौसादलाई उनकै मोबाइल फोनबाट फोन गर्न लगाएर अन्य दुईजनालाई मकवानपुरको हेटांैडाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार नौसादले सुपारीबापतको रकम उपलब्ध गराउने भनेपछि अन्य दुईजना अभियुक्त उनलाई हेटांैडामा कुरेर बसेको अवस्थामा पक्राउ परेका थिए ।
मृतक सावित्री लामो समयदेखि छोरी ईश्वरीको घरमा बस्दै आएकी थिइन् । ईश्वरीका श्रीमान् सोनाम थापामगर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै होटल व्यवसाय गर्दै आएका थिए । उनी नेपाली सिने जगतका अभिनेता पनि हुन् ।
सोनामले ‘ब्वाइफ्रेण्ड’ र ‘एकलव्य’ नामक चलचित्रमा अभिनय गरेका छन् । उनलाई सानैदेखि भट्टराई परिवारले पालनपोषण गरेर छोरी ईश्वरीसँग विवाह गरिदिएको थियो । सोनाम र ईश्वरीबीच आठ वर्षअघि बिहे भएको बताइएको छ ।




















