मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा मेरो संलग्नता छैन: वाई.बी.राई।

क्वालालम्पुर (मलेसिया):= मलेसिया रोजगारीका लागि २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाको सूची सार्वजनिक भएपछि आफू र आफू सम्बद्ध इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालिलाई कथित ‘सिण्डिकेट’सँग जोडेर गरिएको प्रचारप्रति कम्पनीका सञ्चालक वाई.बी. राईले आपत्ति जनाएका छन् ।

राईले विज्ञप्ति जारी गर्दै मलेसियाको एफडब्लुसीएमएस (FWCMS) पोर्टलअन्तर्गत ‘Registered Recruitment Agencies’ शीर्षकमा सार्वजनिक गरिएको २५ वटा नेपाली म्यानपावर कम्पनीको सूची निर्माण वा त्यससँग सम्बन्धित प्रक्रियामा आफ्नो तथा आफ्नो कम्पनीको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका हुन् ।

उनका अनुसार उक्त सूची कसरी तयार भयो, कसले समावेश गर्‍यो भन्ने विषयमा आफूहरू पूर्ण रूपमा अनभिज्ञ रहेको र सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा कम्पनीको नाम जोडिनु दुःखद भएको बताएका छन् । राईले इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्टले नेपाल सरकारको नीति, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुसार स्वच्छ, पारदर्शी र नैतिक भर्ना प्रक्रिया (Ethical Recruitment) अवलम्बन गर्दै आएको दाबी गरेका छन् ।

उनले आफू सम्बद्ध कम्पनी अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) को इन्टरनेशनल रिक्रुटमेन्ट इन्टेग्रिटी सिस्टम (IRIS) अन्तर्गत प्रमाणित नेपालको पहिलो म्यानपावर कम्पनी भएको उल्लेख गर्दै शून्य लागत तथा न्यायोचित भर्ना प्रक्रियामार्फत नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराउँदै आएको बताएका छन् । विज्ञप्तिमा कम्पनीले विगत करिब दुई दशकदेखि मलेसियालगायत विभिन्न मुलुकमा २० हजारभन्दा बढी नेपाली श्रमिकलाई स्वच्छ, पारदर्शी र नैतिक भर्ना प्रक्रियामार्फत निःशुल्क रोजगारीमा पठाइसकेको दाबी गरिएको छ ।

राईका अनुसार कम्पनीले सन् २०१६ देखि नै न्यायोचित भर्ना प्रक्रियालाई व्यवस्थित रूपमा लागू गर्दै आएको र सन् २०१८ देखि रोजगारदाताले नै लागत व्यहोर्ने (Employer Pays Principle) अवधारणामा आधारित श्रमिकमैत्री प्रणाली अपनाउँदै आएको छ । कुनै ठोस प्रमाणबिना आफ्नो नाम कथित ‘सिण्डिकेट’सँग जोडिएको भन्दै राईले यस्ता आरोपले आफ्नो व्यक्तिगत प्रतिष्ठा तथा कम्पनीको दुई दशक लामो व्यावसायिक छविमा असर पुगेको बताएका छन् ।

उनले आवश्यक तथ्य तथा प्रमाण संकलन गरी कानुनी उपचारका विषयमा समेत छलफल भइरहेको जानकारी दिँदै सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई सत्यतथ्य पुष्टि गरेर मात्र सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन् । “कुनै जिज्ञासा वा अन्योल भएमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क गरी आधिकारिक तथ्य बुझ्न अनुरोध गर्दछौं,” विज्ञप्तिमा भनिएको छ । इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्टले आगामी दिनमा पनि सुरक्षित, मर्यादित र नैतिक वैदेशिक रोजगारी, शून्य लागतको सिद्धान्त तथा पारदर्शी भर्ना प्रक्रियाप्रति आफ्नो प्रतिबद्धता कायम राख्ने राईले बताएका छन् ।