साउनबाट मुलुकभर बक्स अफिसः मन्त्री बाँस्कोटा

काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सवको अवसरमा नेपाली चलचित्रमा योगदान पु¥याएका केही कलाकारलाई सम्मान गरेको छ । बोर्डको १९औं वार्षिक उत्सव कार्यक्रम उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि २०५० को दशकसम्म योगदान पु¥याएका १५ जना चलचित्रकर्मीलाई बोर्डका तर्फबाट चलचित्रकर्मी विशिष्ट योगदान सम्मान–२०७ बाट सम्मानित गरेका हुन् । 

सम्मानित हुनेमा निर्देशकहरूबाट वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा, अभिनेताबाट वरिष्ठ अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसी, अभिनेत्रीबाट नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द थिइन् । यस्तै संगीततर्फबाट वरिष्ठ संगीतकार शम्भुजित बासकोटा, नृत्य निर्देशनतर्फ वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ, द्वन्द्व निर्देशनतर्फ वरिष्ठ द्वन्द्व निर्देशक राजेन्द्र खड्गी ‘चलचित्रकर्मी विशिष्ट योगदान सम्मान’बाट सम्मानित भए । 

यस्तै छायांकनबाट वरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठ, ध्वनिबाट वरिष्ठ ध्वानि विशेषज्ञ प्रदीपकुमार उपाध्याय, चलचित्र निर्माणबाट वरिष्ठ चलचित्र निर्माता छविराज ओझा, प्रचारतर्फबाट वरिष्ठ पोष्टर डिजाईनर सुन्दर श्रेष्ठ, चलचित्र पत्रकारिता तर्फबाट वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधार, चलचित्र विज्ञापन निर्माणतर्फबाट विज्ञापनका वरिष्ठ निर्माता निर्मलराज पौडेल, सञ्चार क्षेत्रबाट कामना पब्लिकेशन र नेपाली चलचित्रमा विदेशीको योगदानअन्तर्गत जापानी नागरिक डा. तोसिआकी इतोहलाई विशेष सम्मानबाट मन्त्री बाँस्कोटाले सम्मानित गरे । 

यस्तै केही चलचित्र हलहरूलाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री बाँस्कोटाले आउँदो साउनबाट मुलुकभरका सिनेमा हलमा बक्स अफिस प्रणाली लागू गर्ने बताए । मन्त्री बाँस्कोटाले टेलिभिजनमा क्लिन फिल्ड लागू गर्ने, साउनबाट सिनेमा हलमा बक्स अफिस प्रणाली लागू गर्ने, चलचित्र छायांकनका लागि सुविधा सम्पन्न इन्डोर सुटिङ स्टुडियो निर्माण गर्ने, नेपालमा १८० दिन सिनेमा हलमा अनिवार्य नेपाली चलचित्र प्रदर्शन नियम लागू गर्ने बताए । 

यस्तै नेपाली चलचित्रको उद्योगको हितका लागि नेपाल चलचित्र विकास कम्पनी लिमिटेड, बालाजुलाई दिइएको जग्गा अहिले हराएको र त्यो जग्गालाई सरकारले जसरी पनि खोजी गर्ने प्रतिबद्धता जनाएका छन् । 

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले मन्त्री बाँस्कोटाको निर्देशनअनुसार साउनबाट आफूहरूले बक्स अफिस मुलुकभरका सिनेमा हलमा लागू गर्ने, अर्को वर्षभित्र काठमाडौं उपत्यकामा इन्डोर सुटिङ स्टुडियो निर्माण गर्ने, आगामी २७ असारमा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिने र छायांकनका लागि नेपाल कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए । सम्मानित हुने श्रष्टालाई केही रकम चाँडै प्रदान गरिने अध्यक्ष भट्टराईले बताएका छन् ।