प्रधानमन्त्रीको प्रश्न : वायुसेवा निगम किन निरन्तर घाटामा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगमले व्यवस्थापन पक्षलाई तत्काल सुधार गर्नुपर्ने बताउँदै यथास्थितिमा सरकारले सहयोग गर्न नसक्ने प्रस्ट पारेका छन् । निगमको ६१औं वार्षिकोत्सव समारोहका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्थापन पक्षमा देखिएको कमजोरीकै कारण निगम धराशायी हुँदै गएको दाबी गरे । 

प्रधानमन्त्री ओलीले निजी विमान कम्पनीहरू सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण के हो भनेर प्रश्नसमेत गरे । दीर्घकालीन सोच र रणनीतिको अभावमा निगमका विमान थन्किएको उनको भनाइ थियो ।

वायु सेवा निगम ६१ वर्षमा ३७ अर्ब घाटामा जानुको कारण खोज्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यथास्थितिमा निगमलाई सरकारले एक पैसा पनि दिँदैन ।’ उनले व्यवस्थापनले स्पष्ट कार्ययोजना सरकारसमक्ष पेस गर्नुपर्ने र त्यसलाई कार्यान्वयन गर्ने दृढता पनि हुनुपर्ने बताए । ‘सरकार सहयोग मात्र होइन, काँध थाप्न पनि तयार छ,’ उनले भने, ‘तर आँखा चिम्लेर बिनाग्यारेन्टी रकम दिन मिल्दैन ।’

निगमले सञ्चित पुँजी वृद्धिका लागि सरकारसँग २० अर्ब रुपैयाँ माग गरेको छ । निगमले अहिले ३७ अर्ब रुपैयाँ घाटामा रहेको जनाएको छ ।

आकाशमा उड्नुपर्ने निगमका जहाज सधैं विमानस्थलमा देखिनुले पनि निगमको व्यवस्थापन पक्ष कस्तो छ भनेर अनुमान गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘एकपटक एयरर्पोटमा निगमका जहाज बग्रेल्ती देखेपछि मैले सोधें– नेपाल एयरलाइन्सका जहाज त धेरै रहेछन् नि,’ केही समयअघिको प्रसंग स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तर मैले जवाफ पाएँ कि यी जहाज नउडेर यहाँ देखिएका हुन् । उडेका भए सबै जहाज आकाशमा हुन्थे । निगम पनि नाफामा जान्थ्यो ।’

उनले निगम आफैंमा व्यापारिक संस्था भए पनि नाफा आर्जन त परै जाओस्, आत्मनिर्भरसमेत हुन नसकेकोमा आश्चर्य प्रकट गरे । ‘यो दान दिने संस्था होइन, व्यापारिक संस्था हो,’ उनले भने, ‘किन सिकिस्त बिरामी छ ? निगम निःशुल्क स्वास्थ्य शिविर गर्ने संस्था त होइन ¤ आफैंले आम्दानी गर्नुपर्छ, विमान उडाउन नसक्ने भए किन खरिद गरेको ?’

उनले निगमका निर्णयहरू हचुवाका भरमा हुने गरेको बताए । ‘गन्तव्य कहाँ हो थाहा छैन, वाइडबडी किनेको छ, पाइलट छैन,’ उनले भने, ‘यस प्रकारका निर्णयले निगम धराशायी हुँदै गएको हो ।’ उनले जापानको नारिता विमानस्थल र युरोपियन देशहरूमा उडानको तयारी गर्न पनि व्यवस्थापनलाई निर्देशन दिए ।

निगमसँग हाल रहेका जहाज गन्तव्य नपाएर उडान भर्न नसकेको अवस्थामा निगमका कर्मचारी संगठनका प्रतिनिधिले भने आगामी पाँच वर्षमा २५ वटा जहाज खरिदका लागि सरकारसमक्ष आग्रह गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले निगमको प्रभावकारी व्यवस्थापन नभएसम्म जहाज मात्र किनेर थन्क्याउने पक्षमा सरकार नरहेको प्रस्ट पारे । उनले भने, ‘अहिलेको सरकार चर्चा परिचर्चाबाट प्रेरित हुँदैन, जहाज किनेर त्यसै लडाउन ? मैदानभरी जहाज छन् तर आकाशमा उड्दैनन् । यस्तो अवस्था सधैं रहिरहनु उचित हुन्न ।’

वाइडबडी विमान खरिद गरे पनि नयाँ गन्तव्य पाउन नसकेकोमा उनले निगम व्यवस्थापनकै कमजोरी औंल्याए । ‘विमान ल्याउनुअघि नै योजना तय हुनुपर्छ,’ उनले भने, ‘वाइडबडीको गन्तव्य खोइ ?’

निगमको दुईवटा वाइडबडी विमान खरिदमा अनियमितता भएको आरोप लाग्दै आएको छ । संसदीय समितिले वाइडबडी विमान खरिदमा अनियमितता भएको ठहर गरिसकेको छ । हालसम्म दुवै वाइडबडी विमानले क्षमताअनुसारको उडान पाएका छैनन् । उडान नहुँदा विमानको किस्ता रकम तिर्नसमेत निगमलाई कठिनाइ हुँदै आएको छ ।