सम्वन्ध विच्छेद गर्नेमा महिला भन्दा पुरुष धेरै

रामेछाप  । नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ ले पुरुषले पनि सम्वन्ध विच्छेद गर्न पाउने गरि कानुन बनेपछि पछिल्लो समय जिल्ला अदालत रामेछापमा सम्वन्ध विच्छेद गर्नेहरुमा महिलाको संख्याको तुलनामा पुरुषको संख्या बढेको छ ।

नेपालको संविधान २०७४ ले पारित गरेको नयाँ कानुन अनुसार गत भदौ १ गतेबाट पुरुषले पनि सम्वन्ध विच्छेद गर्न पाउने भएपछि रामेछापमा गत भदौ १ गते देखी हालसम्म १९ जना पुरुषले सम्वन्ध विच्छेदको लागि जिल्ला अदालत रामेछापमा निवेदन दर्ता गराएका छन् । त्यसैगरी १३ जना महिलाहरुले पनि सम्वन्ध विच्छेद गरी पाउँ भनि निवेदन पेश गरेको जिल्ला अदालत रामेछापका श्रेस्तेदार गेहेन्द्र रेग्मीले जानकारी दिए ।

उनले भने– नयाँ कानुन आएपछि पुरुषले पनि सहजै सम्वन्ध विच्छेद गर्न पाउने भएपछि सोही कानुनलाई टेकेर अहिले पुरुषहरुले पनि सम्वन्ध विच्छेद गरि पाउँ भन्दै धमाधम निबेदन दिने पुरुषको संख्यामा बृद्धि भएको बताए । जिल्ला अदालतको रेकर्ड अनुसार महिलाको तुलनामा सम्वन्ध विच्छेदको निवेदन पेश गर्नेमा पुरुषको संख्या भन्दा महिलाको संख्या कम देखिएको छ ।

अदालतमा सम्वन्ध विच्छेदको लागि परेका निवेदनको आधारमा अदालतले दुवै दम्पतिलाई कार्यालयमा झिकाएर मेलमिलाप गराउन पहल गर्ने र मेलमिलाप हुनै नसक्ने अवस्थामा मात्र निवेदन परेको एक वर्ष भित्र दुवै दम्पतिको मञ्जुरीमा मुद्धा फैसला गर्ने काम जिल्ला अदालतले गर्दै आएको   छ ।