प्रवासी नेपाली मञ्च मलेसियाको अधिवेशन आइतबार, नयाँ नेतृत्व चयन हुँदै।

क्वालालम्पुर (मलेसिया):= नेकपा (एमाले) निकट प्रवास संगठन “प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी मलेसिया”को तेस्रो राष्ट्रिय अधिवेशन आगामी अक्टोबर ११ आइतबार क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा हुने भएको छ।

दिउँसो १२:०० बजे सुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। अधिवेशनमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व एसिया इन्चार्ज डा. सूर्य पाठक प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

अधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्नुका साथै भावी नीति, कार्यक्रम र कार्यदिशा तय गर्नेछ। साथै, मलेसियामा कार्यरत नेपाली श्रमिकका हक, अधिकार र समस्याका विषयमा छलफल गर्दै प्रवासी नेपालीको हित संरक्षण तथा संगठनलाई थप सशक्त बनाउने रणनीति तय गरिने आयोजकले जनाएको छ।

प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा हालै बसेको भर्चुअल बैठकले अधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो। संगठनका सचिव सविन कुमार लोप्चनले अधिवेशनको तयारी पूरा भएको जानकारी दिँदै नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।

अध्यक्ष कुमालले पनि अधिवेशन सफल बनाउन सबैको सहयोग र सहभागिताको अपेक्षा गरेका छन्। ‘सबल प्रवासी, सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने मूल भावनासहित अघि बढिरहेको मञ्चले अधिवेशनमार्फत मलेसियामा रहेका नेपाली समुदायका सवाललाई थप प्रभावकारी रूपमा उठाउने लक्ष्य लिएको छ।