क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा श्रमिक पठाउने प्रक्रियामा देखिएको सिन्डिकेट (एकाधिकार) को विवादले नेपालको श्रम बजारमा गम्भीर संकट निम्त्याएको छ। नेपालका सिमित म्यानपावर कम्पनीहरूलाई मात्र फाइदा पुग्ने गरी सिन्डिकेट लाद्न खोजिएपछि मलेसियाका बहुराष्ट्रिय तथा ठूला रोजगारदाताहरू असन्तुष्ट बनेका छन्।
प्रक्रियामा भएको ढिलाइ, नीतिगत अस्पष्टता र अपारदर्शिताका कारण नेपाली श्रमिक ल्याउन झन्झट भएपछि ती कम्पनीहरूले अहिले नेपालको विकल्प खोज्न थालेका छन्। विशेष गरी अन्तर्राष्ट्रिय सामाजिक मापदण्ड (Social Compliance) पालना गर्ने र श्रमिकको सम्पूर्ण खर्च आफैं बेहोर्ने ‘शुन्य लागत’ (Zero Cost) नीति भएका मलेसियाली कम्पनीहरू अहिले तीव्र रूपमा इन्डोनेसियातर्फ आकर्षित भइरहेका छन्।
इन्डोनेसियामा श्रमिक भर्ना प्रक्रिया छिटो, पारदर्शी र झन्झटरहित भएकाले रोजगारदाताहरूले आफ्नो ध्यान त्यता मोडेका हुन्। यसले गर्दा नेपालले पाउँदै आएको आकर्षक र सुरक्षित रोजगारीको ठूलो कोटा धमाधम गुम्न थालेको छ। यो गतिरोध तत्काल अन्त्य नभएमा नेपाली श्रमिकहरूले शून्य लागतमा मलेसिया जाने अवसर सधैंका लागि गुमाउने खतरा बढेको छ।
सीमित व्यवसायीको स्वार्थका कारण उत्पन्न भएको यो सिन्डिकेट विवादले एकातिर रेमिट्यान्समा निर्भर नेपालको अर्थतन्त्रलाई धक्का पुऱ्याउने निश्चित छ भने अर्कोतिर नेपाली श्रमिकहरू कम तलब र असुरक्षित रोजगारीका लागि बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको छ। यस विषयमा सरकार र सरोकारवाला निकायले समयमै ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।




















