क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री एवं अर्थमन्त्री दातोक स्री अनवर इब्राहिमले आज (शुक्रबार) संसदमा देशको बहुप्रतिक्षित ‘बजेट २०२७’ प्रस्तुत गर्दैछन्। मलेसियन समय अनुसार दिउँसो ३:३० बजे (नेपाली समय दिउँसो १:१५ बजे) सुरु हुने यस बजेट भाषणलाई मलेसियामा कार्यरत लाखौँ विदेशी श्रमिकहरूले निकै चासोका साथ पर्खिरहेका छन्।
हाल कायम रहेको न्यूनतम मासिक पारिश्रमिक १,७०० रिंगिटलाई बढाएर २,००० रिंगिट पुर्याइने घोषणा हुनसक्ने बलियो सम्भावनाका कारण यस पटकको बजेटमा औद्योगिक तथा उत्पादनमूलक क्षेत्रमा कार्यरत आप्रवासी कामदारहरूको सबैभन्दा ठूलो नजर केन्द्रित भएको छ।
पछिल्लो समय कम्पनीहरूको नाफा र उत्पादकत्व बढे पनि श्रमिकहरूको तलब अपेक्षाकृत रूपमा वृद्धि नभएको भन्दै प्रधानमन्त्री अनवरले न्यून आय भएका वर्गलाई राहत दिने संकेत गरिसकेका छन्। साना तथा मझौला उद्योग (SMEs) का रोजगारदाताहरूले तत्कालै तलब बढाउँदा आर्थिक भार थपिने भन्दै केही समय रोक्न सरकारलाई दबाब दिएका छन्।
यद्यपि, श्रमिक संगठनहरूले वर्तमान महँगीको मार कम गर्न २,००० रिंगिटको परिमार्जन आवश्यक रहेको अडान राख्दै आएका छन्। यदि यो घोषणा भएमा मलेसियाको विभिन्न आर्थिक क्षेत्रलाई चलायमान बनाइराख्न महत्त्वपूर्ण योगदान दिइरहेका लाखौँ विदेशी श्रमिकहरूको आधारभूत तलब र ओभरटाइम (OT) भत्तामा उल्लेख्य वृद्धि भई उनीहरूको आर्थिक अवस्थामा ठूलो सुधार आउने अपेक्षा गरिएको छ।




















