राष्ट्रिय हितका सम्बन्धमा प्रधानमन्त्रीद्वारा खुला छलफल गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा  छलफल गर्न निर्देशन दिएका छन् ।

भोली देखि काठमाडौंमा सुरु हुने नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरुलाई निर्देशन दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

जल तथा उर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्धेश्यिय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन आज सिंहदरबारमा बैठक आयोजना गरेको थियो ।

सो बैठकमा  नेपाल – भारत स्तरीय छलफलमा देशको हित पक्षमा खुलेर आफ्ना कुरा राख्न  र त्यस अनुसारको तयारी गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले २३ बर्ष अघि महाकाली सन्धी अनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनु पर्ने १० घन मिटर प्रति सेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएकोले यस बिषयलाई गम्भीरताका साथ उठाउनु पर्ने बताए । “हाम्रो पहिलो प्राथमिकता सन्धीको कार्यन्वयन हो । सन्धी अनुसार नेपालले १० क्यूमेक्स पानी पाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने “ सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिती अब हुनुहुँदैन ।”

२०५२ माघ १९ गते भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन मिटर प्रति सकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यन्वयन गराउने भारतलाई तत्पर गराउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

बैठकमा उर्जा मन्त्री बर्षमान पुन, प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णु प्रसाद रिमाल परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई लागयतको सहभागिता थियो ।